भाद्र २० गते २०८३ --:--:--
मेनु

विभिन्न जिल्लाका प्रजिअसहित सहसचिव र उपसचिवको सरुवा

मेरो आर्थिक मेरो आर्थिक भाद्र २० गते २०८३ १२:२४ PM
विभिन्न जिल्लाका प्रजिअसहित सहसचिव र उपसचिवको सरुवा

२० भदौ, काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तथा मन्त्रालय र मातहतका निकायमा कार्यरत सहसचिव र उपसचिव तहका कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ ।

मन्त्रालयले १८ भदौमा गरेको निर्णयअनुसार विभिन्न जिल्लाका प्रजिअको सरुवा तथा पदस्थापन गरिएको हो ।

निर्णयअनुसार सहसचिव श्रवणकुमार पोखरेललाई झापाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । सल्यानका प्रजिअ महेन्द्रकुमार सापकोटालाई सुर्खेतको प्रजिअ बनाएर पठाइएको छ ।

त्यस्तै, जाजरकोटका प्रजिअ खडानन्द अधिकारीलाई बाराको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको छ भने बाराका प्रजिअ धर्मेन्द्रकुमार मिश्रलाई गोरखाको जिम्मेवारी दिइएको छ ।

गोरखाका प्रजिअ तुलसीबहादुर श्रेष्ठलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । खोटाङकी प्रजिअ रेखा कँडेललाई दोलखाको प्रजिअ बनाइएको छ भने दोलखाका प्रजिअ हरिप्रसाद घिमिरेलाई गृह मन्त्रालयमा तानिएको छ ।

रौतहटका प्रजिअ दिनेश सागर भुसालको पनि गृह मन्त्रालयमा सरुवा भएको छ । रोल्पाका प्रजिअ गंगाबहादुर क्षेत्रीलाई पर्वत र पर्वतका प्रजिअ लक्ष्मीप्रसाद पौडेललाई रौतहटको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

यसैगरी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत वेदराज फुयाँललाई डडेलधुराको प्रजिअ बनाइएको छ । डडेलधुराका प्रजिअ अमरबहादुर वलीलाई भने बाँकेको सहायक प्रजिअका रूपमा सरुवा गरिएको छ ।

गृह मन्त्रालयका उपसचिव कुलशेखर अर्याललाई भोजपुरको प्रजिअको जिम्मेवारी दिइएको छ । बाँकेका सहायक प्रजिअ महेशकुमार गुरुङलाई खोटाङ, उपसचिव बन्दना केसीलाई सल्यान र गणेश गैरैलाई म्याग्दीको प्रजिअ बनाइएको मन्त्रालयले जनाएको छ ।

बागलुङका सहायक प्रजिअ नवराज बराललाई जाजरकोटको प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएको छ ।

यस्तै, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवास्थित अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत बलराम निरौलाको गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

मन्त्रालयका सहसचिव ऋषिराम तिवारीलाई लागूऔषध नियन्त्रण विभाग, काठमाडौंमा सरुवा गरिएको छ ।

गृह मन्त्रालयले पछिल्लो निर्णयमार्फत जिल्ला प्रशासन कार्यालय तथा मन्त्रालयमा कार्यरत कर्मचारीहरूको जिम्मेवारीमा व्यापक हेरफेर गरेको हो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?