भाद्र २० गते २०८३ --:--:--
मेनु

मानव बेचबिखन नियन्त्रणमा सबै तहका सरकारबीच सहकार्य आवश्यक : प्रधानमन्त्री

मेरो आर्थिक मेरो आर्थिक भाद्र २० गते २०८३ १२:३० PM
मानव बेचबिखन नियन्त्रणमा सबै तहका सरकारबीच सहकार्य आवश्यक : प्रधानमन्त्री

२० भदौ, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले मानव बेचबिखन तथा ओसारपसार अन्त्यका लागि संघीय सरकारसँगै प्रदेश र स्थानीय तह तथा सम्बन्धित सबै पक्षबीच प्रभावकारी सहकार्य हुनुपर्ने बताएका छन् ।

मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले मानव बेचबिखनलाई मानव सभ्यतामाथिकै गम्भीर कलंकका रूपमा चित्रण गरेका छन् । उनका अनुसार यो समस्या पछिल्लो समय संगठित अपराधको स्वरूपमा विश्वव्यापी रूपमा फैलिँदै गएको छ ।

यस वर्ष ‘प्रविधिको सही प्रयोग र सजगता : मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने नाराका साथ राष्ट्रिय दिवस मनाइँदैछ ।

प्रधानमन्त्री शाहले प्रविधिको तीव्र विकाससँगै मानव बेचबिखन तथा ओसारपसारका तौरतरिका पनि परिवर्तन हुँदै गएको बताएका छन् । उनका अनुसार यसको प्रवृत्ति, स्वरूप, प्रकृति र गन्तव्यसमेत समयअनुसार फेरिँदै गएको छ ।

मानव बेचबिखनको रोकथाम तथा नियन्त्रणका लागि सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार आवश्यक नीतिगत र संस्थागत सुधारलाई निरन्तरता दिइरहेको प्रधानमन्त्री शाहले बताएका छन् ।

उनले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयसँगै सम्बन्धित सरोकारवालाको सहकार्यमा मानव बेचबिखनविरुद्ध विभिन्न कार्यक्रम तथा पहल सञ्चालन भइरहेको जानकारी दिएका छन् ।

प्रधानमन्त्री शाहका अनुसार यस अभियानलाई प्रभावकारी बनाउन सरकारी निकाय मात्र पर्याप्त हुँदैनन् । प्रदेश तथा स्थानीय सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, विकास साझेदारलगायत सबै सरोकारवालाको सक्रिय सहभागिता आवश्यक हुन्छ ।

उनले संयुक्त प्रयासबाट मात्रै मानव बेचबिखनमुक्त समाज निर्माण गर्न सकिने बताएका छन् ।

मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सरकारको अभियानमा निरन्तर सहयोग, समन्वय र सहकार्य गर्दै आएका सबै पक्षलाई प्रधानमन्त्री शाहले धन्यवादसमेत दिएका छन् । साथै उनले सरकारको प्रतिबद्धतालाई सफल बनाउन सबैको साथ, सहयोग र ऐक्यबद्धताको अपेक्षा गरेका छन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?