काठमाडौं । हालै आएको बाढीका कारण आपूर्ति प्रणाली प्रभावित भएपछि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चुलिएको छ । बजारमा आफूले प्रयोग गर्दै आएको कम्पनीको ग्यास नपाएपछि उपभोक्ता समस्यामा परेका छन् ।
सरकारले भने उपत्यकामा ग्यासको आपूर्ति सहज बनाउन वैकल्पिक व्यवस्था लागू गरेको जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्तालाई तत्काल ग्यास उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएकी छन् ।
मन्त्री यादवको निर्देशनअनुसार उपभोक्ताले आफूले नियमित रूपमा प्रयोग गर्दै आएको कम्पनीको ग्यास उपलब्ध नभएमा सोही मूल्यमा अर्को कम्पनीको सिलिन्डर साटेर ग्यास लिन सक्नेछन् । बाढीका कारण सिर्जना भएको आपूर्ति असहजतालाई तत्काल सम्बोधन गर्दै उपभोक्तालाई राहत दिने उद्देश्यले यस्तो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । यो व्यवस्था हाललाई काठमाडौं उपत्यकाभित्र मात्र लागू हुनेछ । व्यवस्था तत्काल र प्रभावकारी रूपमा कार्यान्वयन गर्न मन्त्री यादवले नेपाल आयल निगम तथा सम्बन्धित ग्यास उद्योगहरूलाई निर्देशन दिएकी छन् ।
मन्त्री यादवले विषम परिस्थितिको फाइदा उठाउँदै उपभोक्तालाई अनावश्यक दुःख दिने, कृत्रिम अभाव सिर्जना गर्ने वा सरकारको निर्देशनविपरीत काम गर्ने व्यवसायी तथा सम्बन्धित पक्षमाथि कानुनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत दिएकी छन् ।













