काठमाडौं । ललितपुरको सातदोबाटोस्थित पौडी पोखरी परिसरमा जेनजी आन्दोलनमा ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा स्मृति पार्क तयार गरिएको छ ।
‘जेनजी स्मृति पार्क’ नाम दिइएको उक्त पार्कको आज औपचारिक उद्घाटन गर्ने तयारी गरिएको छ । उद्घाटनका लागि गृहमन्त्री सुधन गुरुङ पार्क परिसरमा पुगिसकेका छन् । पार्कमा राखिएका शहीदका सालिकलाई लिएर भने परिवार तथा आफन्तले असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूका अनुसार सालिकमा देखाइएको अनुहार सम्बन्धित व्यक्तिको वास्तविक अनुहारसँग मेल खाँदैन । सालिक निर्माण गर्दा पर्याप्त सावधानी नअपनाइएको उनीहरूको गुनासो छ ।
गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनाको सालिक पार्कमा स्थापना गरिएको छ ।
सरकारका अनुसार करिब दुई रोपनी क्षेत्रफलमा निर्माण गरिएको पार्कलाई आन्दोलनमा सहादत प्राप्त गरेकाहरूको योगदानको स्मरण गर्ने तथा राष्ट्रियता र सामूहिक स्मृतिलाई संरक्षण गर्ने उद्देश्यले तयार पारिएको हो ।













