काठमाडौं । बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले बुधबार २० अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ च’ जारी गर्ने भएको छ।
केन्द्रीय बैंकका अनुसार उक्त एकवर्षे ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्। इच्छुक संस्थाले बुधबार दिउँसो ३ बजेसम्म अनलाइनमार्फत बोलकबोल प्रक्रियामा आवेदन दिन सक्नेछन्। बोलकबोलबाट तय हुने ब्याजदरका आधारमा ऋणपत्र वितरण गरिनेछ।
यो ऋणपत्रको अवधि एक वर्ष रहनेछ। यसको साँवा २०८४ असार २४ गते फिर्ता गरिनेछ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले न्यूनतम ५ करोड रुपैयाँदेखि आवेदन दिन सकिने जनाएको छ। आवेदन रकम ५ करोड रुपैयाँको गुणक (multiple) मा हुनुपर्नेछ र कुल आह्वान गरिएको रकमको सीमाभित्र रहने गरी बोलपत्र पेस गर्नुपर्ने व्यवस्था छ।
जारी गरिने ऋणपत्रलाई नेपाल राष्ट्र बैंकका साथै अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा पनि प्रयोग गर्न सकिनेछ।
नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता उच्च हुँदा बजारमा रहेको अतिरिक्त नगद व्यवस्थापन गर्न समय–समयमा यस्ता ऋणपत्र तथा निक्षेप संकलन उपकरण जारी गर्दै आएको छ।











