एनसेलद्वारा भूकम्प पीडितकोलागि ५० लाख रुपैयाँ सहयोग घोषणा

मेरो आर्थिक
कार्तिक १९ गते २०८०
समयः ९:०२ am

एनसेल आजियाटा लिमिटेडले जाजरकोट भूकम्प पीडितकोलागि सहयोग घोषणा गरेको छ । एनसेल आजियाटा लिमिटेडले बिज्ञप्ति जारी गदै उक्त घोषणा गरेको हो ।
जारी बिज्ञप्तिमा भुकम्प पिडितको सहायताका लागि तत्काल ५० लाख रुपैयाँ आर्थिक सहयोग घोषणा गरेको छ । कम्पनीले शनिबार विज्ञप्ति जारी गर्दै भूकम्प पीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई उक्त रकम उपलब्ध गराउने घोषणा गरेको जानकारी दिएको छ ।
राहत तथा उद्धार कार्यलाई सहयोग पुर्याउने प्रभावित जिल्ला जाजरकोट, रुकुम (पश्चिम) र रुकुम (पूर्व) मा रहेका ग्राहकलाई ४० लाख ब्यालेन्स बाराबरको सेवाहरु निःशुल्क उपलब्ध गराउने घोषणा समेत एनसेलले गरेको छ । कम्पनीका अनुसार यसरी पाइने सेवाहरुमा देशका अन्य नेटवर्क र विदेशमा कल गर्न सकिने सेवा, डेटा र एसएमएस रहेका छन् । यसको समयसीमा १५ दिनको रहने छ ।
विनाशकारी भूकम्पबाट ज्यान गुमाउनेहरु प्रति दुःख व्यक्त गदै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आफूहरू भूकम्प प्रभावित जिल्लाका जनताहरुसँगै रहेको विज्ञप्तिमा उल्लेख छ । भुकम्पमा परी हाल सम्म २५३ जना घाइते र १५७ जनाको मृत्यु भइसकेको छ ।