Skip to content
logo
चैत्र १२ गते २०८१ समयः

व्यापार घाटा बढ्दै

मेरो आर्थिक
मेरो आर्थिक
माघ ९ गते २०८०
व्यापार घाटा बढ्दै

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ६ खर्ब ९३ अर्ब घाटा भएको भन्सार विभागको तथ्यांक छ । सबैभन्दा बढी व्यापार घाटा छिमेकी मुलुक भारत र चीनसँग छ ।

निर्यातजन्य वस्तुको उत्पादन र उत्पादकत्व बढाउन नसक्दा नेपालले व्यापार गर्ने मुलुकमध्ये १ सय २८ मुलुकसँग घाटा बेहोरिरहेको छ । स्वदेशमै उत्पादन हुने वस्तुमा समेत परनिर्भर हुँदा व्यापार घाटा चुलिएको सरोकारवाला बताउँछन् ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालले १ सय ५५ मुलुकसँग द्विपक्षीय व्यापार गर्छ । यसमध्ये १ सय २८ मुलुकसँगको व्यापार घाटा र २७ मुलुकसँगको व्यापार नाफा छ । व्यापार घाटा खर्ब र अर्ब रुपैयाँमा भइरहँदा नाफा भने करोड र लाखमा देखिएको छ । आयात–निर्यात व्यापारमा सबैभन्दा अगाडि भारत नै छ । भारतबाट ४ खर्ब ७४ अर्ब ८९ करोडको आयात हुँदा ५० अर्ब ४४ करोडको निर्यात भएको छ । अर्थात् ६ महिनाको अवधिमा भारतसँग ४ खर्ब २४ अर्ब ४४ करोड रुपैयाँ घाटा भएको छ ।

दोस्रोमा चीनसँग घाटा देखिएको छ । ६ महिनामा १ खर्ब ४५ अर्ब ७९ करोड घाटा भएको छ । १ खर्ब ४७ अर्ब ३९ करोडको आयात हुँदा १ अर्ब ६० करोडको मात्रै निर्यात भएको छ । जानकारका अनुसार पारवाहन लागत, उद्योगभन्दा ट्रेडिङ नीति, तुलनात्मक लाभका वस्तु परिमार्जित नहुँदा व्यापार बढ्न नसकेको हो । कृषिमा पराम्परागतबाट माथि नउठेको पूर्वसहसचिव रवि सैंजूले जनाए ।

अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न गोदाम हुनुपर्छ । त्यो नहुँदा पनि अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसकिएको सैंजूको भनाइ छ । व्यापार बढाउन नीति बनेको छ । तर त्यो नीतिमा मात्रै सीमित बनेको उनले जनाए । ‘नेपालमा उद्योग खोल्नै गाह्रो हुन्छ । सरकारी निकायबीच समन्वय अभावलगायत समस्या उस्तै छन्,’ उनले भने, ‘अर्थतन्त्रको संरचना नै आयातमुखी हुँदा समस्या भयो ।’ नेपालले गर्ने व्यापारमध्ये सबैभन्दा बढी अमेरिकासँग ७० करोड ३६ लाख नाफा गरेको छ ।

डेनमार्कसँग २७ करोड १४ लाख, नर्वेसँग ६ करोड ४८ लाख, माल्दिभ्ससँग २ करोड ३५ लाख र लाटभियासँग १ करोड ७६ लाख नाफा गरेको छ । ६ महिनामा ८ खर्ब ४३ अर्ब १३ करोडको वैदेशिक व्यापार भएको छ । यसमध्ये ७ खर्ब ६८ अर्ब १६ करोडको आयात र ७४ अर्ब ९६ करोडको निर्यात भएको छ ।

Add a new comment