Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

समयमा बिल नतिर्ने २५३ उपभोक्ताको विद्युत् तार काट्दै प्राधिकरण

मेरो आर्थिक
मेरो आर्थिक
माघ १७ गते २०८०
समयमा बिल नतिर्ने २५३ उपभोक्ताको विद्युत् तार काट्दै प्राधिकरण

नेपाल विद्युत प्राधिकरण धनगढीले लामो समयदेखि विद्युत महसुल नतिर्ने उपभोक्ताको विद्युत् आपूर्ति काट्न थालेको छ ।

प्राधिकरण धनगढी वितरण केन्द्रले पटक–पटक सम्झाउँदा पनि विद्युत् महसुल तिर्न नमान्ने सरकारी कार्यालय र व्यक्तिगत उपभोक्ताको विद्युत् लाइन काट्न थालेको छ । प्राधिकरणले समयमै विद्युत् महसुल नतिरेको भन्दै धनगढी र अत्तरियाका २५३ उपभोक्ताको विद्युत् तार काटेको हो ।

लामो समयदेखि विद्युत् महसुल नतिर्ने उपभोक्ताको बक्यौता रकम रु १५ करोड ३४ लाख रहेको छ । धनगढी वितरण केन्द्रका प्रमुख मिथिलेशकुमार गोयलका अनुसार १८० उपभोक्ताले विद्युत् आपूर्ति काटेर महसुल तिरेका छन् ।

पछिल्लो एक महिनामा मात्रै उपभोक्ताबाट ७ करोड ८३ लाख रुपैयाँ असुली भएको उनले बताए । धनगढी विद्युत वितरण केन्द्रले मालपोत कार्यालय, नापी कार्यालय, सडक कार्यालयलगायत सातवटा सरकारी कार्यालयको लाइन काटेको छ । कम्तिमा सात सरकारी कार्यालयले विद्युत महसुलको रु ६ लाख २ हजार ६०७ तिर्न बाँकी रहेको धनगढी वितरण केन्द्रको तथ्यांक छ ।

लाइन काटिएका सरकारी कार्यालयबाट १ लाख ४८ हजार ६ सय ४० मात्रै असुली भएको वितरण केन्द्र प्रमुख गोयलले बताए ।

धनगढी वितरण केन्द्रअन्तर्गत ७९ हजारभन्दा बढी उपभोक्ता रहेका छन् । कार्यालयले समयमा विद्युत महसुल नतिर्ने विद्युत् उपभोक्तालाई विद्युत् आपूर्ति अवरुद्ध गर्ने जनाएको छ ।

विद्युत् नियमावलीअनुसार मिटर रिडिङ गरेको ६० दिनपछि पनि बक्यौता नतिरे विद्युत् आपूर्ति बन्द हुने व्यवस्था छ । विद्युत् आपूर्ति अवरुद्ध भएको ६ महिनासम्मको बक्यौता नतिर्ने उपभोक्तालाई कालोसूचीमा राखेर असुली प्रक्रिया अगाडि बढाउने व्यवस्था छ ।

Add a new comment