अरबौं ठगी गरेको आरोपमा ११जना सहकारी सञ्चालकहरु विरुद्ध मुद्धा दायर


काठमाडाैं जिल्ला अदालतमा आइतबार कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारीका पूर्व अध्यक्ष चन्द्रबहादुर लामा (सिवी) लगायत ११ जना सञ्चालकविरुद्ध बचतकर्ताको १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार २७ रुपैयाँ १९ पैसा रकम ठगी गरेको भन्दै मुद्दा दायर गरिएको छ । लामा नेपाली कांग्रेस काभ्रेका नेतासमेत रहेका छन् ।
लामा आम निर्वाचन २०७४ र ०७९ मा काभ्रे क्षेत्र नं १ (क) बाट प्रदेश सभा सदस्यको लागि उम्मेद्वार रहेका थिए । तर, दुवै निर्वाचनमा उनी पराजित भएका थिए । पशुपति र कान्तीपुर सहकारीका संस्थापक लामा लामो समयसम्म सहकारी चलाएर, त्यसकै भरमा जिल्लाका नेताहरुलाई प्रभावित गरि राजनीतिक पकड बनाएको भन्दै काभ्रे कांग्रेसका नेता कार्यकर्ताहरुले असन्तुष्टि जनाउँदै आएका छन् । तर, जिल्ला सभापति तिर्थ लामाको जोडबलमा उनले पार्टी भित्र पकड बनाउंदै लगेका छन् ।
प्रहरीले उक्त सहकारीका पूर्व अध्यक्ष लामासहित हालका अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरी, कोषाध्यक्ष प्रेमध्वज लामा, सचिव जोगलाल लामा,सदस्य सानुकान्छा लामा, सदस्य नारायणप्रसाद रिमाल, सदस्य इन्दु थापा सदस्य देवराज पराजुली, लेखा सुपरिवेक्षण समितिको संयोजक कञ्चन तामाङ र सदस्यहरु उद्धवप्रसाद पाण्डे तथा अम्बिका थपलियालाई विपक्षी बनाई मुद्दा दायर गरेको छ।
उनीहरुविरुद्ध ८५२ जनाले प्रहरीमा उजुरी दिएका छन् ।