वैशाख ६ गते २०८३ --:--:--
मेनु

आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

मेरो आर्थिक मेरो आर्थिक वैशाख ६ गते २०८३ १:५४ PM
आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

सरकारले आज र सोमबार देशभरका बालबालिकालाई भिटामिन ‘ए’ वितरण कार्यक्रम सञ्चालन गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत राष्ट्रिय भिटामिन ‘ए’ अभियानमार्फत यी दुई दिन भिटामिन ‘ए’सँगै जुकाविरुद्धको औषधि पनि खुवाइँदैछ। स्वास्थ्य सेवा विभागको पोषण शाखाका प्रमुख लिलाविक्रम थापाका अनुसार, यो कार्यक्रम व्यापक रूपमा सञ्चालन गरिएको हो।

कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल दिइनेछ। त्यस्तै, एक वर्षदेखि पाँच वर्षमुनिका झण्डै २० लाख बालबालिकालाई ‘अलबेन्डाजोल’ नामक जुकाको औषधि पनि खुवाइँदैछ। यसका लागि स्थानीय तहहरूले विभिन्न स्थानमा खोप केन्द्र स्थापना गरेका छन्, जहाँ करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन भएका छन्।

चिकित्सकहरूका अनुसार भिटामिन ‘ए’ले बालबालिकाको आँखाको स्वास्थ्य, रोगसँग लड्ने क्षमता तथा शारीरिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँछ। जुकाको औषधिले पेटका किरा हटाएर कुपोषण, रगतको कमी, पेट दुख्ने तथा झाडापखाला जस्ता समस्याबाट जोगाउन मद्दत गर्छ।

भिटामिन ‘ए’को कमी न्यूनीकरणका लागि यो कार्यक्रम विसं २०५० मा आठ जिल्लाबाट सुरु गरिएको थियो र विसं २०५९ देखि देशभर लागू गरिएको हो। त्यसैगरी, जुकाविरुद्धको औषधि वितरण कार्यक्रम विसं २०५६ मा १३ जिल्लाबाट सुरु भई २०६७ सालदेखि सबै जिल्लामा विस्तार गरिएको छ।

नेपालमा हरेक आर्थिक वर्षको कात्तिक र वैशाख महिनामा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क रूपमा खुवाउने प्रचलन रहेको छ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?