जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षति पुगेको बागमती प्रदेश सरकारअन्तर्गतको मन्त्रालय भवन पुनः मर्मतपछि सञ्चालनमा ल्याइएको छ।
हेटौंडा उपमहानगरपालिका–१ मा रहेको पाँचतले भवनलाई पुनर्निर्माण गरी प्रयोगयोग्य बनाइएको हो। उक्त भवन गत २४ भदौमा आन्दोलनका क्रममा प्रदर्शनकारीले आगजनी र तोडफोड गर्दा क्षतिग्रस्त भएको थियो।
सोमबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा ले संयुक्त रूपमा मर्मत सम्पन्न भवन उद्घाटन गरेका हुन्।
मन्त्री देवकोटाका अनुसार भवन पुनर्निर्माणमा आधुनिक तथा वैज्ञानिक प्रविधिको प्रयोग गरिएको छ। पुल्चोक इन्जिनियरिङ क्याम्पसका स्ट्रक्चरल इन्जिनियरहरूको टोलीले भारवहन क्षमता परीक्षण गरेपछि ‘रेट्रोफिटिङ’ प्रविधिबाट भवनलाई अझ मजबुत बनाइएको हो।
प्राविधिक विवरण अनुसार ११ मंसिरमा ठेक्का प्रक्रिया पूरा गरी करिब १ करोड २८ लाख रुपैयाँमा भवन मर्मत गरिएको हो, जबकि प्रारम्भिक अनुमानित लागत १ करोड ८४ लाख रुपैयाँ थियो। भवनको लिफ्ट र ट्रान्सफर्मर पनि मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको छ।
पुनर्निर्माणपछि यस भवनबाट श्रम, रोजगार तथा यातायात मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय र सहकारी तथा गरिबी निवारण मन्त्रालय गरी चार वटा मन्त्रालयको सेवा सञ्चालन हुनेछ। आन्दोलनअघि पनि यही भवनबाट केही मन्त्रालयहरू सञ्चालनमा थिए।
उद्घाटन कार्यक्रममा मुख्यमन्त्री बानियाँले आवश्यक भौतिक पूर्वाधार अभावका कारण मन्त्रालयहरूले भोग्दै आएको अस्थायी व्यवस्थाको समस्या अब अन्त्य भएको बताए। साथै, स्थायी संरचना निर्माणका लागि जग्गा व्यवस्थापन प्रक्रिया पूरा भइसकेकाले चालु आर्थिक वर्षमै नयाँ भवनको टेन्डर प्रक्रिया अघि बढ्ने जानकारी दिए।
आन्दोलनका क्रममा प्रदेशभरका भौतिक संरचनामा करिब १ अर्ब रुपैयाँभन्दा बढी क्षति पुगेको थियो, जसमा भवनतर्फ मात्रै करिब ५८ करोड रुपैयाँ बराबरको नोक्सानी भएको बताइएको छ।
मर्मत कार्य पारदर्शी बनाउन सार्वजनिक खरिद ऐनअनुसार प्रक्रिया अपनाइएको र क्षतिग्रस्त पाँचमध्ये चार भवनको मर्मत सम्पन्न भइसकेको छ। प्रदेशसभा सचिवालय भवनको मर्मत कार्य अन्तिम चरणमा पुगेको छ।
त्यसैगरी, विभिन्न जिल्लामा रहेका प्रदेश सरकारका २७ कार्यालय र ६१ भवनमा क्षति पुगेको प्रारम्भिक विवरणमा उल्लेख छ। सवारी साधनतर्फ पनि ठूलो क्षति भएको छ, जसमा १४३ दुईपाङ्ग्रे र ५६ चारपाङ्ग्रे सवारी जलेर नष्ट भएका थिए।
प्राविधिक मूल्यांकनका आधारमा क्षतिग्रस्त संरचनालाई तीन वर्गमा विभाजन गरिएको थियो—तत्काल प्रयोगयोग्य (हरियो), मर्मतपछि प्रयोग गर्न मिल्ने (पहेँलो) र पूर्ण रूपमा पुनर्निर्माण गर्नुपर्ने (रातो)।













