काठमाडौं । हरेक वर्ष मे ३ मा मनाइने विश्व प्रेस स्वतन्त्रता दिवस आज नेपालमा पनि विविध कार्यक्रमका साथ मनाइँदैछ।
सन् १९९३ मा युनेस्कोको पहलमा विन्डहकमा आयोजित अन्तर्राष्ट्रिय भेलाबाट ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरिएको दिनको स्मरणमा यो दिवस मनाउने परम्परा सुरु भएको हो। उक्त घोषणापत्रले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा स्पष्ट प्रतिबद्धता व्यक्त गरेको थियो।
नेपालमा पनि यस अवसरमा विभिन्न कार्यक्रम आयोजना भइरहेका छन्। नेपाल पत्रकार महासंघले अन्तर्क्रिया, प्रदर्शन तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ।
दिवसका अवसरमा रामचन्द्र पौडेल र रामसहाय प्रसाद यादव लगायतले शुभकामना व्यक्त गरेका छन्।
राष्ट्रपति पौडेलले स्वतन्त्र पत्रकारिताले सत्यको खोज र तथ्यपरक सूचनाको प्रसारमार्फत समाजलाई सही दिशामा अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका छन्। उनले प्रेस स्वतन्त्रतालाई लोकतन्त्रको आधार मान्दै विभिन्न लोकतान्त्रिक आन्दोलनमा सञ्चार क्षेत्रको योगदान स्मरण गरेका छन्।
उनका अनुसार नागरिकलाई सुसूचित बनाउने संवैधानिक अधिकार सुनिश्चित गर्न स्वतन्त्र, निष्पक्ष र सबल प्रेस आवश्यक छ। साथै, पत्रकारलाई सुरक्षित वातावरणमा काम गर्न पाउने अधिकार सुनिश्चित हुनुपर्नेमा उनले जोड दिएका छन्।
त्यस्तै, उपराष्ट्रपति यादवले पनि नेपालको संविधानले प्रेस स्वतन्त्रतालाई मौलिक अधिकारका रूपमा प्रत्याभूत गरेको उल्लेख गर्दै स्वतन्त्र र निर्भीक पत्रकारिताले लोकतन्त्रलाई सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।











