जेठ २० गते २०८३ --:--:--
मेनु

राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक

मेरो आर्थिक मेरो आर्थिक जेठ ३ गते २०८३ ७:३९ AM
राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै हालको लचिलो मौद्रिक नीतिको कार्यदिशा लाई निरन्तरता दिएको छ। साथै, ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधा (Standing Deposit Facility) सम्बन्धी व्यवस्था पुनरावलोकन गरिने जनाएको छ।

राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा तरलता व्यवस्थापनलाई सुदृढ बनाउन हाल लागू गरिएको ब्याजदर करिडोर संरचनामा सुधार आवश्यक देखिएकाले यससम्बन्धी व्यवस्थाको पुनः मूल्यांकन गरिनेछ।


नीतिगत दर यथावत्, ठूलो परिवर्तन नगर्ने निर्णय

समीक्षामा राष्ट्र बैंकले हालको आर्थिक अवस्थालाई ध्यानमा राख्दै:

  • नीतिगत दरहरू यथावत् राख्ने
  • बैंकदर, CRR (Cash Reserve Ratio) र SLR (Statutory Liquidity Ratio) मा कुनै परिवर्तन नगर्ने

निर्णय गरेको जनाएको छ। विदेशी विनिमय सञ्चिति सन्तोषजनक रहनु र मुद्रास्फीति लक्ष्यभित्रै रहेकाले ठूलो नीतिगत परिवर्तन नगरेको स्पष्ट पारिएको छ।


मुद्रास्फीति लक्ष्यभित्र, आर्थिक वृद्धि ३.८५ प्रतिशत अनुमान

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो नौ महिनामा औसत उपभोक्ता मुद्रास्फीति २.३९ प्रतिशत रहेको छ, जुन ५ प्रतिशतको लक्ष्यभित्र हो। चैत महिनामा वार्षिक बिन्दुगत मुद्रास्फीति भने ४.४७ प्रतिशत पुगेको छ।

यसैगरी, चालु आर्थिक वर्षमा कुल आर्थिक वृद्धि ३.८५ प्रतिशत रहने अनुमान गरिएको छ। क्षेत्रगत रूपमा:

  • कृषि: १.५८%
  • उद्योग: १.६७%
  • सेवा: ४.२१%

वृद्धि हुने प्रक्षेपण गरिएको छ।


विदेशी मुद्रा सञ्चिति उच्च, रेमिट्यान्समा उल्लेख्य वृद्धि

समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भई १६ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको छ।
यससँगै:

  • चालु खाता बचत: ६ खर्ब १८ अर्ब रुपैयाँ
  • शोधनान्तर बचत: ७ खर्ब ३१ अर्ब रुपैयाँ

विदेशी विनिमय सञ्चिति ३४ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ, जसले करिब १८.४ महिनाको आयात धान्न सक्ने क्षमता रहेको राष्ट्र बैंकले जनाएको छ।


व्यापार घाटा बढ्दो, तर निर्यातमा सुधार

यस अवधिमा:

  • निर्यात १८.५% ले वृद्धि
  • आयात १३.८% ले वृद्धि

भए पनि कुल व्यापार घाटा १३% ले बढेर १२ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ।


ब्याजदर घट्दो, कर्जा प्रवाह विस्तार

बैंकिङ प्रणालीमा पर्याप्त तरलता कायम रहेको राष्ट्र बैंकले जनाएको छ।

  • वाणिज्य बैंकहरूको निक्षेप ब्याजदर: ३.४०%
  • कर्जाको औसत ब्याजदर: ६.७७%

निजी क्षेत्रमा प्रवाहित कर्जा ५.७ प्रतिशतले वृद्धि भएको उल्लेख गरिएको छ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?