काठमाडौं । रसुवामा आएको बाढीपछि जिल्लाका विभिन्न क्षेत्रमा रहेका ३८४ जना पर्यटक सम्पर्कविहीन भएको पाइएको छ। नेपाल पर्यटन बोर्डले ट्राभल एजेन्सी, पर्यटक गाइड, स्थानीय तह तथा सुरक्षा निकायबाट प्राप्त विवरणका आधारमा यस्तो तथ्यांक सार्वजनिक गरेको हो।
बोर्डका अनुसार सम्पर्कविहीन पर्यटकमध्ये २९१ जना विदेशी र ९३ जना नेपाली रहेका छन्। सम्बन्धित ट्राभल एजेन्सी तथा अन्य सरोकारवाला निकायसँग विवरण पुष्टि गरेपछि पर्यटकको अवस्था सार्वजनिक गरिएको बोर्डले जनाएको छ।
प्राप्त विवरणअनुसार सम्राट टुर्स एन्ड ट्राभल्समार्फत रसुवा पुगेका ७१ जना सम्पर्कविहीन छन्। उनीहरूमध्ये ५९ भारतीय र १२ नेपाली रहेको बताइएको छ। त्यस्तै काठमाडौं होलिडेजका १७ जना, लिफ होलिडेजका ५५ जना र कैलास जर्नीका ३१ जना पर्यटक सम्पर्कमा नरहेको जनाइएको छ।
यसैगरी एक्स्प्लोर भ्याकेसनका ७ जना, ट्रेकर्स सोसाइटीका ९२ जना, रिचा टुर्स एन्ड ट्राभल्सका १२ जना तथा फिस्टेल टुर्स एन्ड ट्राभलका २७ जना पर्यटक सम्पर्कविहीन रहेको तथ्यांकमा उल्लेख छ।
हिमालयन ग्लेसियरमार्फत गएका ५२ जना र अल्पाइन इको ट्रेकका २० जना पर्यटक पनि हालसम्म सम्पर्कमा आउन नसकेको बोर्डले जनाएको छ।
बाढीका कारण सडक तथा यातायात सम्पर्क प्रभावित भएकाले पर्यटकको अवस्था यकिन गर्न उद्धार तथा खोजी कार्यसँगै सम्बन्धित निकायबीच समन्वय भइरहेको जनाइएको छ। सम्पर्कविहीन पर्यटकको अवस्थाबारे थप विवरण संकलन तथा पुष्टि गर्ने काम जारी रहेको छ।













