भाद्र १० गते २०८३ --:--:--
मेनु

रसुवा बाढीमा ज्यान गुमाउनेप्रति प्रधानमन्त्री शाहद्वारा श्रद्धाञ्जली, उद्धार र राहतलाई तीव्रता दिने प्रतिबद्धता

मेरो आर्थिक मेरो आर्थिक भाद्र १० गते २०८३ ८:५५ PM
रसुवा बाढीमा ज्यान गुमाउनेप्रति प्रधानमन्त्री शाहद्वारा श्रद्धाञ्जली, उद्धार र राहतलाई तीव्रता दिने प्रतिबद्धता

प्रधानमन्त्री बालेन शाहले रसुवालगायतका क्षेत्रमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारलाई राज्यको पूर्ण साथ रहने बताएका छन्।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपद्को यस कठिन समयमा सरकार उद्धार, उपचार, राहत तथा पुनःस्थापनाका लागि सम्पूर्ण संयन्त्र परिचालन गरेर अघि बढिरहेको बताएका हुन्।

उनका अनुसार बाढीमा परी ५० भन्दा बढी नागरिकले ज्यान गुमाएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। साथै आफन्त तथा सम्पत्ति गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै पीडित नागरिकलाई सरकार एक्लो नछाड्ने प्रतिबद्धता जनाएका छन्।

बाढीपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक, राष्ट्रिय परिषद् तथा मन्त्रिपरिषद्को बैठक बसेर उद्धार, खोजी र राहतलाई प्रभावकारी बनाउने विषयमा आवश्यक निर्णय गरिएको प्रधानमन्त्री शाहले बताएका छन्।

बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोली परिचालन गरिएको छ। नेपाली सेनाको हेलिकप्टरमार्फत २५० भन्दा बढी नागरिकको उद्धार भइसकेको र उद्धार गरिएका घाइतेलाई काठमाडौं ल्याएर उपचार भइरहेको जनाइएको छ।

प्रधानमन्त्रीका अनुसार घाइतेहरूको सहज र निःशुल्क उपचारका लागि काठमाडौंस्थित वीर अस्पताल तथा राष्ट्रिय ट्रमा सेन्टरमा १०० शय्या छुट्याइएको छ। उपत्यकाका अन्य ठूला अस्पताललाई समेत आवश्यकताअनुसार घाइतेको उपचार गर्न तयारी अवस्थामा राखिएको उनले बताएका छन्।

प्रभावित क्षेत्रमा मेडिकल टोली, चिकित्सक, स्वास्थ्यकर्मी तथा आवश्यक स्वास्थ्य सामग्री पठाइएको छ। नेपाल स्काउट, विश्व स्वास्थ्य संगठनलगायत विभिन्न निकायसँगको समन्वयमा उद्धार तथा स्वास्थ्य सेवा सञ्चालन भइरहेको जनाइएको छ। औषधी, रगत तथा आकस्मिक स्वास्थ्य सेवामा अभाव हुन नदिन सम्बन्धित स्वास्थ्य निकाय, नेपाल रेडक्रस, लायन्स क्लब लगायतका संस्थासँग समन्वय भइरहेको पनि शाहले बताएका छन्।

बाढीबाट नुवाकोटको विदुर, रसुवाका उत्तरगया र गोसाइँकुण्ड, धादिङका गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेख तथा गोरखाका शहीद लखन र गण्डकी गाउँपालिका बढी प्रभावित भएको जनाइएको छ।

ती क्षेत्रका प्रभावित परिवारसम्म खाद्यान्न, सुरक्षित खानेपानी, औषधी तथा अस्थायी बसोबासको व्यवस्था तत्काल पुर्‍याउने सरकारको तयारी रहेको प्रधानमन्त्री शाहले बताएका छन्। बेपत्ता नागरिकको खोजीलाई अझ तीव्र बनाउँदै घाइते तथा क्षतिको विस्तृत विवरण संकलन गर्ने काम जारी रहेको उनले उल्लेख गरेका छन्।

बाढीबाट क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा खानेपानीका संरचनाको पुनर्निर्माणलाई प्राथमिकता दिइने र विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गरिने पनि प्रधानमन्त्रीले बताएका छन्।

प्रधानमन्त्री शाहले विपद्को यस घडीमा सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक तथा आम नागरिकलाई राहत र उद्धार अभियानमा सहयोग गर्न आह्वान गरेका छन्। पीडित नागरिकलाई सुरक्षित गर्दै उनीहरूको जनजीवनलाई यथाशीघ्र सामान्य अवस्थामा फर्काउन सरकार निरन्तर सक्रिय रहने उनको भनाइ छ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?