नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई के गर्ने भन्नेबारे आज आदेश आउनेछ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेम प्रसाद न्यौपानेले आज सरकारी वकिलहरुको जवाफी बहस सुनेपछि पक्राउ परेकाहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटी माग्ने वा सामान्य तारेखमा छाड्ने भन्ने आदेश गर्नेछन् ।
आज हुने आदेश मुद्दाको अन्तिम फैसला भने हुने छैन । आरोपितहरुलाई थुनामा राख्ने कि छाड्ने भन्ने आदेश गरेपछि मात्रै अदालत मुद्दाको विषयवस्तुमा प्रवेश गर्छ ।
यसअघि न्यायाधीश न्यौपानेको इजलासमा सरकारी वकिल र १८ जना आरोपितहरुका कानून व्यवसायीहरुको बहस सकिएको छ । त्यसैले आज जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले जवाफी बहस गर्ने छन् ।
थुनछेक आदेशमा जिल्ला अदालतबाट हुने आदेश चित्त नबुझे सरकारी वकिल र आरोपित पक्षले उच्च अदालतमा पुनरावेदन गर्न पाउनेछन् ।
यो प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले १२ जना फरार रहेको उल्लेख गरेको छ । उनीहरु भने अदालतमा उपस्थित भएपछि मात्रै बयान र थुनछेक बहस हुनेछ ।













