काठमाडौँ महानगरपालिकाको मुख्य सडकमा स्मार्ट स्ट्रिट लाइट स्मार्ट सडक बत्ती जडान गर्ने कार्य अघि बढेको छ । बत्ती जडानको लागि विसं २०७७ मङ्सिर २५ गते काठमाडौँ महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच सहकार्य गर्ने गरी सम्झौता भएको थियो ।
यस अघि सम्झौता भए पनि कुन कम्पनीको, कति थान र कुन क्षमताको बत्ती जडान तथा त्यसको मर्मतसम्भार कस्ले गर्ने र बत्तीको महसुल कस्ले तिर्नेजस्ता विषय स्पष्ट नभएकाले काम अघि बढ्न सकेको थिएन । केही दिनअघि ती सबै विषयमा पुनः सम्झौता भएपछि बत्ती जडानको काम अघि बढेको हो ।
बत्ती जडान गर्न रु ११ करोड ९९ लाख ७४ हजार नौ सय २५ लागत अनुमान गरिएको छ । जसमा कामपाले ६० र नेपाल विद्युत् प्राधिकरणले ४० प्रतिशत रकम व्यहोर्ने छन् । रातको समयमा यातायात तथा मानवीय आवागमन, शान्ति सुरक्षा तथा सामाजिक सुरक्षा कायम गराउन आधुनिक बत्ती जडान गर्न लागिएको हो ।
लैनचौरदेखि महाराजगञ्ज, माइती घर मण्डलादेखि बागबजार, बागबजारदेखि शीतल निवास, सिनामङ्गल अन्तरराष्ट्रिय विमानस्थलदेखि गौशालाहुँदै कमल पोखरी र चावहिलदेखि जोरपाटीसम्म बत्ती जडान हुनेछन् ।
यसैगरी विद्युत् प्राधिकरणको लगानीमा सिनामङ्गल विमानस्थलदेखि तीनकुने, बानेश्वर, माइतीघर मण्डला, त्रिपुरेश्वर, टेकु, कालीमाटी हुँदै कलङ्की, त्रिपुरेश्वरदेखि लैनचौरसम्म र टुँडिखेल वरिपरी बत्ती जडान हुनेछन् । जडान सम्पन्न भएपछि सञ्चालन व्यवस्थापनका लागि कामपालाई हस्तान्तरण गरिनेछ ।













