फागुन २६ गते २०८२ --:--:--
मेनु

नेपाल पर्यटन बोर्डले विदेशी पर्यटकको खर्चबारे अध्ययन गर्दै

मेरो आर्थिक मेरो आर्थिक फागुन १४ गते २०७९ ८:१३ AM
नेपाल पर्यटन बोर्डले विदेशी पर्यटकको खर्चबारे अध्ययन गर्दै

नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको औसत खर्चको यकिन तथ्याङ्क लिन अध्ययन सुरु गरेको छ । बोर्डले औसत खर्चदर पत्ता लगाउने उद्देश्यले आजदेखि सर्भेक्षण सुरु गरेको हो । विदेशी पर्यटकले नेपालमा कति खर्च गर्छन् भनेर यकिन तथ्याङ्क निकाल्ने लक्ष्यका साथ अध्ययन सुरु गरिएको हो ।

यसका लागि बोर्डबाट खटिने पाँच कर्मचारीले हरेक दिन १० वटा प्रश्नको फाराम भरेर ४० दिनभित्र यो काम सक्नेछन् । बोर्डको समन्वयमा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका विद्यार्थी यो अध्ययनमा सम्लग्न छन् ।

नेपालमा सन् २०२१ मा एक विदेशी पर्यटकले दैनिक औसत ४८ अमेरिकी डलर खर्च गरेको पाइएको छ । सन् २०२२ मा पनि सोही हाराहारीमा पर्यटकले खर्च गर्ने गरेका छन् । सन् २०२३ मा यो दर बढेर ७० देखि ७५ डलर पुग्ने निर्देशकको भनाइ थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल राष्ट्र बैंक, राष्ट्रिय तथ्याङ्क कार्यालय र नाथमको सहकार्यमा पर्यटकको खर्चसम्बन्धी अध्ययन सुरु गरिएको हो ।

पछिल्ला दिनमा विदेशी पर्यटक आउनेक्रम बढेको छ । बोर्डको तथ्याङ्कअनुसार अङ्ग्रेजी वर्ष सन् २०२३ को जनवरी महिनामा ५५ हजार ७४ विदेशी पर्यटक नेपाल भित्रिएका थिए भने गएको वर्ष छ लाख १४ हजार एक सय ४८ विदेशी पर्यटक भित्रिएका थिए । कोभिड–१९ महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ विदेशी पर्यटक आएकामा सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आई दुई लाख ३० हजार ८५ जना रहेको थियो । त्यसैगरी २०२१ मा भने एक लाख ५० हजार नौ सय ६२ पर्यटक नेपाल आएका थिए ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?