स्वाथ्य बीमा बोर्डले चालु आर्थिक वर्षको फागुनसम्ममा ८ अर्ब ५५ करोड ३५ लाख रुपैयाँ भुक्तानी गरेको छ । बोर्डले चालु आर्थिक वर्ष भित्र ६ पटक गरी सो बराबरको दाबी रकम बोर्डमा आवद्ध सेवा प्रदायक संस्थाहरुलाई भुक्तानी गरेको हो ।
सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यका साथ २०७२ सालमा सामाजिक सुरक्षाका रुपमा शुरु भएको यस कार्यक्रम हाल स्वास्थ्य बीमा बोर्डले संचालन गर्दै आएको छ ।
बोर्ड संञ्चालक समितिको चैत २ गते बसेको बैठकको सेवा प्रदायक स्वास्थ्य संस्थाको दाबी रकम पूर्ण तथा आशिंक पेश्की फर्छौट गर्ने निर्णय गरेको हो । उक्त निर्णय अनुसार बोर्डले ३४७ वटा सेवा प्रदायक संस्थाहरुलाई छैटौं पटक एक अर्ब ६३ करोड ६४ लाख रुपैयाँ भुक्तानी गरेको छ ।
बोर्डले चालु आर्थिक वर्षको पहिलो पटक २ अर्ब ६७ करोड ११ लाख रुपैयाँ, दोस्रो पटक ६६ करोड ८१ लाख रुपैयाँ, तेस्रो पटक १ अर्ब ७ करोड ६ लाख रुपैयाँ, चौथो पटक १ अर्ब १८ करोड ६ लाख रुपैयाँ र पाँचौ पटक १ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ भुक्तानी गरेको थियो ।












