काठमाडौं । दिवङ्गत आफन्तको सम्झनामा मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आजदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा मनाइँदैछ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिनसम्म मनाइने यो पर्वमा विभिन्न सांस्कृतिक, धार्मिक तथा हास्यव्यङ्ग्यात्मक कार्यक्रम आयोजना गरिन्छ ।
गाईजात्राका अवसरमा अघिल्लो वर्ष दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईको प्रतीकका रूपमा सिँगारेर नगर परिक्रमा गराउने चलन छ । सहभागीलाई श्रद्धालुले दूध, दही, फलफूल, रोटी, चिउरा, अन्न तथा द्रव्य दान गर्ने परम्परा रहेको छ । धार्मिक मान्यताअनुसार यसरी गाईको प्रतीकसहित नगर परिक्रमा गराउँदा मृतात्माले गाईको पुच्छर समाएर वैतरणी नदी पार गर्न सहज हुन्छ भन्ने विश्वास गरिन्छ ।
गाईजात्राको सुरुवात तत्कालीन राजा प्रताप मल्लको पालादेखि भएको ऐतिहासिक मान्यता छ । पुत्रशोकमा रहेकी रानीलाई सान्त्वना दिने उद्देश्यले राजा प्रताप मल्लले आफ्नो राज्यमा दिवङ्गत भएका व्यक्तिका परिवारलाई गाईजात्रा निकालेर नगर परिक्रमा गर्न आदेश दिएको जनश्रुति छ ।
गाईजात्राले रानीको शोक कम गर्न नसकेपछि समाजका दुःख, विसंगति तथा विकृतिमाथि हास्यव्यङ्ग्य र प्रहसन प्रस्तुत गर्न समेत आदेश दिइएको बताइन्छ । यही परम्परा क्रमशः गाईजात्राको महत्वपूर्ण पक्षका रूपमा विकसित भएको हो ।
प्रताप मल्लको समयदेखि हनुमानढोकास्थित तत्कालीन राजदरबार क्षेत्र हुँदै गाईजात्रा निकाल्ने परम्परा समेत कायम छ । काठमाडौं उपत्यकामा गाईजात्राको विशेष रौनक देखिए पनि देशका अन्य सहर तथा समुदायमा पनि आ–आफ्नै मौलिक शैलीमा यो पर्व मनाउने गरिन्छ ।
गाईजात्राका अवसरमा विभिन्न स्थानमा नाचगान, झाँकी, प्रहसन तथा सामाजिक र राजनीतिक विकृतिमाथि व्यङ्ग्यात्मक प्रस्तुति गरिन्छ । मृतकको सम्झनामा रामायणका करुण रसयुक्त गीत गाउने परम्परा पनि यस पर्वसँग जोडिएको छ ।
नेपालको राजनीतिक इतिहासमा गाईजात्राको हास्यव्यङ्ग्य पक्षले समेत महत्वपूर्ण स्थान राख्छ । पञ्चायती व्यवस्थामाथि व्यङ्ग्य हुने गरेको भन्दै २०१७ सालपछि गाईजात्रामा समेत प्रतिबन्ध लगाइएको थियो । पछि २०३३ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको पहलमा झाँकी तथा हास्यव्यङ्ग्यसहित गाईजात्रा महोत्सवका रूपमा पुनः आयोजना हुन थालेको इतिहास छ ।
यसरी धार्मिक आस्था, दिवङ्गत आफन्तप्रतिको श्रद्धा र सामाजिक विकृतिमाथिको व्यङ्ग्यलाई एकसाथ समेटेको गाईजात्रा नेपाली मौलिक संस्कृति र परम्पराको महत्वपूर्ण पर्वका रूपमा रहँदै आएको छ ।













