Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

सरकारले पत्रकारको दुर्घटना बीमा गर्ने

मेरो आर्थिक
मेरो आर्थिक
जेठ १७ गते २०८०
सरकारले पत्रकारको दुर्घटना बीमा गर्ने

लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्री सन्तोषकुमार पाण्डेयले पत्रकारिता क्षेत्रको वृद्धि, विकाससँगै पत्रकारसँग सहकार्य गरेर सरकार अघि बढ्ने बताएका छन् । लुम्बिनी प्रेस क्लबले आज भैरहवामा आयोजना गरेको छलफल कार्यक्रममा लुम्बिनी सरकारका प्रवक्तासमेत रहेका मन्त्री पाण्डेयले पत्रकारसँग सहकार्य गरी समयानुकूल ऐन, नियम बनाउँदै सञ्चारमाध्यमलाई व्यवस्थित बनाउने बताए ।

मन्त्री पाण्डेयले भने “ऐन, नियम बनेमा सञ्चार क्षेत्र व्यवस्थित हुन्छ, यसका लागि सबै पत्रकारसँग सहकार्य गरी सल्लाह सुझाव लिएर मैले काम गर्ने छु, प्रदेश सरकारले काम गर्ने छ”, उनले पत्रकारितासँग सरोकार राख्ने सबै क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउँदै समग्र सञ्चार जगतलाई विकास गर्न सरकार कटिबद्ध रहेको बताए ।

मन्त्री पाण्डेयले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पत्रकारको दुर्घटना बीमा नवीकरण गर्ने प्रक्रिया अघि बढाएको बताए । “नवीकरण नहुँदा दुर्घटना बीमाको काम रोकिएको थियो, मैले सचिवलाई निर्देशन दिएर प्रक्रिया अघि बढाएको छु, छिट्टै टुङ्गिन्छ”, उनले भने । पत्रकारको दुर्घटना बीमा प्रदेश सरकारले गर्ने भन्दै मन्त्री पाण्डेयले लुम्बिनी प्रेस क्लबमा आबद्ध पत्रकारको क्षमता विकासका लागि सरकारले सहयोग गर्ने जनाए ।

मन्त्री पाण्डेयले लुम्बिनी सरकारले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने गरी योजना बनाएर अघि बढ्न लागेको बताए । स्थानीय उत्पादनलाई ‘ब्राण्डिङ’ गरेमा बजार चलायमान हुने उनको भनाइ छ । मन्त्री पाण्डेले लुम्बिनीका माध्यमबाट प्रदेशलाई समृद्ध गराउनेतर्फ सरकार लागिपरेको बताए ।

Add a new comment