विश्वकै पहिलो एग्रिकल्चर गेम रियालिटि शो RAW (Revolutionary Agriculture War) को आज घोषणा भएको छ । कृषि , उद्दमशिलता र जलवायु परिवर्तनलाई मुख्य आधारशिला बनाएको कार्यक्रमको आज राजधानीमा एक कार्यक्रम गरि घोषणा गरिएको हो ।

इ. स्क्वायर प्राइभेट लिमिटेडले आयोजना गर्न लागेको गेम रियालिटि शो मा एग्रिकल्चर र इन्टरटेनमेण्ट दुई विधाको संयोजनबाट एग्रिटेनमेण्टको परिकल्पना गरिएको छ । यस शो मा दुई किसिमका प्रतिस्पर्धी किसान र कृषि प्राविधिकले भाग लिने बताइएको छ । किसान भन्नाले कुनै पनि कृषि पेशामा व्यवसायिक रुपले आवद्ध व्यक्ति भनेर परिभाषित गरिएको छ भने कृषि प्राविधिक भन्नाले B. Sc. Agriculture वा सो सरह पढेका व्यक्तिहरू भनेर परिभाषित गरिएको छ । कार्यक्रमबाटै शोका सर्जक एवम् निर्देशक शैलेश कँडेल क्षेत्री, मास्टर होस्ट राजेश हमाल, ग्राण्ड जज का रुपमा डा। योगेन्द्र कुमार कार्की र डा। नम्रता पाण्डेलाई परिचित गराएको छ ।

कार्यक्रममा बोल्दै मास्टर होस्ट राजेश हमालले नेपालको विकास गर्नु छ भने व्यवसायिक कृषि सँगै कृषि क्रान्ति अपरिहार्य रहेको बताए । ‘तीन दशक लामो अभिनय यात्रामा कयौंपटक किसानको भूमिकामा देखिएको थिएँ अब किसानको वास्तविक क्रान्तिमा सहभागी हुन पाउँदा आफुलाई ओजिलो महसुस गरेको छु । यतिका समय देशका विभिन्न तहमा बसेर कृषि क्रान्तिमा गफ गरेको सुनिएको थियो अब भने यो कार्यक्रम मार्फत साच्चै नै कृषि क्रान्तिको परिभाषा परिवर्तन हुने अपेक्षा राखेको छु । यो खालको कार्यक्रमलाई राज्यको औपचारिक निकायले अपनत्व लिनुपर्छ भन्ने मलाई लागेको छ्र युवाहरुको यो सोचलाई मास्टर होस्टको रुपमा आफुले नेतृत्व गर्न पाउँदा अद्भुत अनुभूति भएको छ ।’

यो कार्यक्रमबाट आम समाजले कृषकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनेमा आफु दृढ रहेको हमालले बताए । कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाका प्रतिनिधि, किसान समुहका प्रतिनिधि, प्राध्यापक, व्यापारिक संघसंस्था, पत्रकार, विध्यार्थी लगायतको उपश्थिति थियो । कार्यक्रममा उपस्थित वक्ता तथा अतिथिले कृषि र प्राथमिक उत्पादनको क्षेत्रमा बढेको निराशामा यस रियालिटि शो ले कमि ल्याउने विश्वास व्यक्त गरेका थिए ।
शोका निर्देशक शैलेश कँडेल क्षेत्रीले यो शो किसान र कृषि प्राविधिकहरु बीचको प्रतिस्पर्धा नभएको बताएका छन् । कृषि आधुनिकीकरणबाट मात्र नेपालको वास्तविक परिवर्तन सम्भव रहेको निर्देशक कंडेलले जनाए । किसान प्रतिस्पर्धी, किसान सँगै प्रतिस्पर्धा गर्ने र उत्कृष्ट एक जना विजेता बन्ने र प्राविधिक प्रतिस्पर्धी, प्राविधिक सँगै प्रतिस्पर्धा गर्नेछन् र उत्कृष्ट एक विजेता बन्ने कार्यकारी निर्माता विजय बस्यालले बताए ।

कृषिका विविध आयामहरु कृषि पर्यटन, कृषि वन, पुष्प व्यवसाय, फलफूल खेती, जडीबुटी, अन्नबाली, नगदेबाली, पशुपालन लगायतका क्षेत्रमा उत्पादन, बजार व्यवस्थापन, बिक्री, प्रविधि, दिगो कृषि अभ्यास, वित्तीय ज्ञान, मुल्य श्रृंखला, आदि विषयमा रहेर प्रतिस्पर्धा हुने यो शोको लक्ष्य सकारात्मक मानसिकता विकास गरी सुखी र समृद्ध राष्ट्र बनाउने रहेको बताइएको छ । यसका साथै गेम रियालिटि शोको प्रोमो पनि सार्वजनिक गरिएको छ ।
RAW – Revolutionary Agriculture War | World’s First Agriculture Game Reality Show | Thematic Promo












