Skip to content
logo
असाेज ५ गते २०८१ समयः

सेयर बजार निरन्तर ओरालो लागिरहेका बेला अर्थमन्त्री सहितको टोली नेप्सेमा

मेरो आर्थिक
मेरो आर्थिक
असाेज ४ गते २०८१
सेयर बजार निरन्तर ओरालो लागिरहेका बेला अर्थमन्त्री सहितको टोली नेप्सेमा

सेयर बजार निरन्तर ओरालो लागिरहेका बेला अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कार्यालय पुगेर त्यसबारे जानकारी लिनुभएको छ ।

अर्थमन्त्री पौडेलले बजारमा पछिल्लो समय आइरहेको गिरावटले अर्थ मन्त्रालयको ध्यान तानेको भन्दै सेयर बजारको अवस्थाका बारेमा बुधबार जानकारी लिनुभएको हो । पुँजी बजार कुन ट्रेन्डमा चलेको भनेर जिज्ञासा राख्दै अर्थमन्त्री पौडेलले भन्नुभयो, “राजनीतिका कारण बजार प्रभावित हुन्छ भनिन्छ तर पछिल्लो एक÷दुई साता बजार ओरालो लागिरहेको छ । राजनीतिमा केही नहुँदा समेत बजार ओरालो किन लागि रहेको छ । यो प्रश्न सबै नियामक निकायमा उठेको छ ।”

पछिल्लो समय नेप्से परिसूचक र कारोबार खुम्चिरहेको बारे आफूले जवाफ नपाएसम्म नेप्से, सिडिएस धितोपत्र बोर्डलाई प्रश्न गरिरहने उहाँको भनाइ थियो । कुनैबेला ३० अर्बको कारोबार भइरहेकोतर्फ ध्यानाकर्षण गराउँदै उहाँले अहिले पाँच अर्बमा पुगेकोमा जिज्ञासा राख्नुभएको थियो ।

स्थिर र बलियो सरकार, बैङ्क वित्तीय संस्थामा ब्याजदर निरन्तर घट्दा पनि तीन हजारको विन्दुमा पुगेको बजार निरन्तर घटिरहेको भन्दै उहाँले भन्नुभयो, यो प्रश्नको जवाफ खोज्न नेप्सेमा आएको हुँ । यी प्रश्नको जवाफ म आफैँसँग पनि खोज्छु । मेरा सचिवसँग खोज्छु र नेप्सेको व्यवस्थापनसँग समेत खोज्छु ।”

वर्तनमान सरकार गठन भएपछि राजनीतिक स्थिरताको सन्देशसँगै पुँजी बजारमा पनि सुधार देखिएको भए पनि अहिले फेरि बजार घट्दै जानुको कारणबारे अर्थमन्त्री पौडेलको चासो थियो ।

अर्थमन्त्री पौडेलले पुँजी बजारलाई दिगो, विश्वसनीय र प्रविधिमैत्री बनाउन सुधारका थप क्रियाकलाप अघि बढाउन पनि निर्देशन दिँदै पुँजी बजारमा हुने इन्साइडर ट्रेडिङजस्ता अवाञ्छनीय गतिविधि रोक्नका लागि चनाखो हुन पनि नेप्सेलाई निर्देशन दिनुभयो । अर्थमन्त्री पौडेलसँगै राजस्व सचिव दिनेशकुमार घिमिरे, नेपाल धितोपत्र बोर्डका अध्यक्ष महेश बराल, अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश आचार्यलगायतको टोली नेप्सेको कार्यालयमा निरीक्षण लागि पुग्नुभएको थियो ।

Add a new comment