काठमाडौँ । भारतको मध्यप्रदेशस्थित पन्ना टाइगर रिजर्भको सबैभन्दा जेठी हात्ती वत्सलाको मृत्यु भएको छ ।
उमेरका कारण कमजोर भएको हात्ती वत्सला नाली नजिकै खसेको र पछि अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
वत्सलालाई भारतमा जीवित हात्तीहरूमध्ये सबैभन्दा जेठो हात्ती मानिन्थ्यो । मूल रूपमा केरलाको निलाम्बुर वन डिभिजनमा हुर्केकी वत्सलालाई १९७१ मा मध्य प्रदेश ल्याइएको थियो । १९९३ मा उनलाई पन्ना राष्ट्रिय निकुञ्जमा ल्याइएको थियो । २००३ देखि उनलाई विशेष हेरचाह दिइँदै थियो । २०२० मा, वत्सलाले मोतियाबिन्दुको कारणले आफ्नो दृष्टि गुमाएको तर साथी हात्ती र माहुतहरूको सहयोगमा, जंगलमा घुमिरहेको रिपोर्टमा बताइएको छ ।
वत्सलाको मृत्युमा, मध्य प्रदेशका मुख्यमन्त्री मोहन यादवले श्रद्धाञ्जली अर्पण गर्दै एक पोस्टमा लेखेका छन्- ‘वत्सलाको सय वर्षको संगत आज समाप्त भयो । ‘वत्सला’ ले पन्ना टाइगर रिजर्भमा अन्तिम सास फेरिन् । उनी केवल एक महिला हात्ती थिइनन्, उनी हाम्रो वनकी मौन रक्षक, पुस्ताको साथी र मध्य प्रदेशको संवेदनशीलताको प्रतीक थिइन् ।’













