युरोपेली संघ र मेक्सिकोलाई ३० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा


काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ठूलो घोषणा गर्दै युरोपेली संघ र मेक्सिकोलाई ३० प्रतिशत कर लगाउने घोषणा गरेका छन् । यो शुल्क अर्को महिनाको पहिलो मिति (१ अगस्ट २०२५) बाट लागू हुनेछ । इयु र मेक्सिको अमेरिकाका दुई ठूला व्यापारिक साझेदार भएकाले ट्रम्पको निर्णयले अमेरिकाको व्यापार सम्बन्धमा ठूलो प्रभाव पर्ने विश्लेषण गरिएको छ ।
ट्रम्पले मेक्सिकोले अमेरिकामा अवैध आप्रवासी र फेन्टानिल जस्ता लागूपदार्थको तस्करी रोक्न केही हदसम्म मद्दत गरेको स्वीकार गरेपनि मेक्सिकोले उत्तर अमेरिकालाई ‘लागुऔषध तस्करीको खेल मैदान’ बन्नबाट रोक्न असफल भएको उल्लेख गरेका छन् ।
त्यस्तै उनले युरोपेली संघलाई अमेरिकासँगको व्यापार सन्तुलन पूर्णतया एकतर्फी भएको र अमेरिकालाई हानि पुर्याइरहेको आरोप लगाएका छन् ।
अमेरिकी राष्ट्रपतिको यो कदमलाई विश्वव्यापी व्यापार प्रणालीको लागि ठूलो धक्का मानिएको छ । अमेरिका सहित विश्वभरका देशहरूले अहिलेसम्म ‘मोस्ट फेवर्ड नेशन’ सिद्धान्त अन्तर्गत एकरूप कर नीति अपनाएका छन् । अर्थात्, सबैलाई समान व्यवहार गरिएसम्म कुनै पनि एक देशबाट बढी शुल्क लिन सकिँदैन । तर ट्रम्पले यो परम्परा तोड्दै छानिएका देशहरूमा फरक-फरक शुल्क लगाइरहेका छन्, चाहे तिनीहरू मित्र राष्ट्रहरू हुन् वा प्रतिद्वन्द्वी ।
ट्रम्पले अहिलेसम्म २४ देशहरू र २७ सदस्यीय युरोपेली संघमा कर घोषणा गरेका छन् । यसमा चीन, भारत, ब्राजिल, भियतनाम, दक्षिण कोरिया जस्ता प्रमुख देशहरू समावेश छन् । ट्रम्पले यी भन्सार करले अमेरिकी अर्थतन्त्रलाई फेरि बलियो बनाउने दाबी गर्दै आएका छन् ।