काठमाडौँ । अमेरिकी सर्वोच्च अदालतको निर्णयपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरबाट अमेरिका भित्रिने सामानमा लाग्ने कर बढाएका छन् । सर्वोच्चको आदेशले यसअघि ट्रम्पले लगाएको सबै कर खारेज गरेपछि लगाएको १० प्रतिशत करलाई बढाएर
१५ प्रतिशत पुर्याउने घोषणा गरेका छन् ।
अदालतले ट्रम्प प्रशासनले अघि सारेको अघिल्लो आयात शुल्क नीतिलाई खारेज गरेको एक दिनपछि राष्ट्रपतिले नयाँ दर सार्वजनिक गरेका हुन् । यसअघि उनले अदालतले रद्द गरेको शुल्कको सट्टा सबै आयातित वस्तुमा १० प्रतिशत कर लगाउने बताएका थिए । ट्रम्पले यो निर्णय तत्काल प्रभावबाट लागू हुने उल्लेख गरेका छन् ।
ट्रम्पले आफ्नो पोस्टमा अमेरिकी सर्वोच्च अदालतको निर्णयलाई ‘असाधारण रूपमा अमेरिका विरोधी’ भन्दै आलोचना गरेका छन् । उनले आगामी केही महिनाभित्र कानुनी रूपमा मान्य हुने नयाँ भन्सार संरचना तय गरिने र यसले ‘मेक अमेरिका ग्रेट अगेन’ अभियानलाई अझ सशक्त बनाउने दाबी गरेका छन् ।
ट्रम्पको पछिल्लो घोषणापछि अन्तर्राष्ट्रिय व्यापार क्षेत्र र अमेरिकी बजारमा कस्तो प्रतिक्रिया आउने भन्ने विषयमा चासो बढेको छ ।













