काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।
संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कुल बजेटमध्ये चालु खर्चतर्फ १२ खर्ब ७० अर्ब रुपैयाँ विनियोजन गरिएको जानकारी दिए। यस्तै, पूँजीगत खर्चका लागि ४ खर्ब ३१ अर्ब रुपैयाँ छुट्याइएको छ भने वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब रुपैयाँ विनियोजन गरिएको छ।
सरकारले आगामी वर्ष १४ खर्ब ४ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। बजेटका लागि ६१ अर्ब ७४ करोड रुपैयाँ वैदेशिक अनुदान प्राप्त हुने अनुमान गरिएको छ।
त्यसैगरी, वैदेशिक ऋणबाट २ खर्ब ४७ अर्ब रुपैयाँ जुटाइने लक्ष्य राखिएको छ भने आन्तरिक ऋणमार्फत ४ खर्ब १० अर्ब रुपैयाँ व्यवस्थापन गरिने सरकारको योजना छ।













