वैशाख १३ गते २०८३ --:--:--
मेनु

राष्ट्र बैंकले १० अर्ब खिच्न खोज्दा बैंकहरुले दिए २६ अर्बको आवेदन

मेरो आर्थिक मेरो आर्थिक असार ८ गते २०८० ४:३९ PM
राष्ट्र बैंकले १० अर्ब खिच्न खोज्दा बैंकहरुले दिए २६ अर्बको आवेदन

नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा अधिक तरलता रहेको भन्दै बिहीबार १० अर्ब तरलता खिच्न खोज्दा बैंकहरुले २६ अर्ब रुपैयाँभन्दा धेरैको लागि आवेदन दिएका छन्।

केन्द्रिय बैंकले बिहीबार रिभर्स रिपोमार्फत १० अर्ब खिच्नको लागि आवेदन माग गरेको थियो। जसमा ९ बैंक तथा वित्तीय संस्थाले ५९ वटा बोलकबोलमार्फत २६ अर्ब ३३ करोड रुपैयाँको लागि आवेदन दिएका छन्।

केन्द्रिय बैंकले एक साताको लागि उक्त रकम तान्न खोजेको थियो। अहिले बैंकहरुमा निक्षेप बढ्दै जाँदा अधिक तरलता रहेको छ। बुधबारसम्ममा बैंकिङ्ग प्रणालीमा सिआरआर बाहेक २० अर्ब रुपैयाँ अधिक तरलता रहेको जनाएको छ।

पछिल्लो समय कर्जा लगानी कम हुँदा बैंकहरुको सिडि रेशियो ८४ प्रतिशतभन्दा तल झरीसकेको छ। यसले गर्दा पनि बैंकहरुमा अधिक लगानीयोग्य रकम देखिन्छ।

बैंकहरुलाई लगानीयोग्य रकम बैंकमै थुपारेर राख्नु भन्दा न्युन ब्याजदरमा भए पनि कुनै क्षेत्रमा लगानी गर्नु फाइदा हुन्छ। अहिले कर्जाको माग न्युन छ।

यसले गर्दा केन्द्रिय बैंकले १० अर्ब रुपैयाँ तान्न खोज्दा पनि त्योभन्दा धेरै रकम राख्नको लागि आवेदन दिएका छन्। बैंकहरुले रिभर्स रिपोमा ब्याजदर पनि घटाएका छन्।

चालु आर्थिक वर्षमा केन्द्रिय बैंकले यो दोस्रो पटक तरलता प्रशोचन गरेको हो। यसअघि गत माघ १२ गतेको रिभर्स रिपोमा औसत ब्याजदर ४.३२९० प्रतिशत कायम भएको थियो। बैंकहरुले न्युनतम ४.२४०० प्रतिशतदेखि ४.४६०० प्रतिशतसम्म ब्याजदर राखेर बोलकबोल पेश गरेका थिए।

बिहीबार भने बैंकहरुले ब्याजदर घटाएर बोलकबोल पेश गरेका छन्। बिहीबारको रिभर्स रिपोको औसत ब्याजदर ३.०१०९ प्रतिशत कायम भएको छ। बैंकहरुले न्युनतम २.७३९९ प्रतिशतदेखि अधिकतम ३.२४०० प्रतिशतसम्म ब्याजदर पेश गरेका थिए। लगानीयोग्य रकम अधिक भएका बैंकहरुले सस्तो ब्याजदरमै भए पनि एक साताको लागि उक्त रकम राष्ट्र बैंकमा राख्न बोलकबोल पेश गरेका हुन्।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?