आर्थिक मन्दीको वर्तमान समयमा आर्थिक गतिविधिलाई थप चलायमान बनाई महिला उद्यमीहरुलाई दिगो उद्यमशिलताको लागि प्रेरणा दिन सहयोग मिलोस् भन्ने हेतुले चितवन उद्योग संघ महिला उद्यमी मञ्चको परिकल्पनामा चितवन उद्योग संघ युवा उद्यमी मञ्च र महिला सिर्जनशिल केन्द्रको संयुक्त आयोजनामा महिला दिदीबहिनीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर चितवन मै पहिलो पटक मिति २०८० भदौ २२ गतेदेखि २४ सम्म “तीज विशेष उद्यमशिल एक्स्पो–२०८०” आयोजना हुने भएको छ ।
महिला उद्यमीका उत्पादनलाई प्रबद्र्धन गर्न र बजारमा पहुँच पु¥याउन तथा पर्वलाई समेत उद्यमशिलतामा जोड्न सकिन्छ भन्ने सन्देश दिनका लागि महिला दिदीबहिनीहरुको महान पर्व तीजको अवसर पारेर विभिन्न क्षेत्रमा रहेर उद्यमशिलतामा काम गरी रहनुभएका महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुको प्रदर्शनी तथा प्रबद्र्धन गर्ने, तीज पर्वको गरिमा झल्कने गरी विशेष साँस्कृतिक कार्यक्रम आयोजना गर्ने र विभिन्न क्षेत्रमा सफल उद्यमीकोे रुपमा आफ्नो पहिचान बनाउनु भएका व्यक्तिहरुको उपस्थितिमा सेमिनार तथा अन्तरक्रिया आयोजना गरी महिला उद्यमीहरुलाई थप प्रेरणा दिन र उद्यमशिल महिलाहरुलाई एकै छानामुनी जमघट गराएर अनुभव साटासाट मार्फत दिगो उद्यमशिलतालाई टेवा पु¥याउन सहयोगी हुने गरी एक्स्पोको आयोजना गर्न लागिएको आयोजकले बताएका छन् ।
महिलाहरुलाई उद्यमी बन्नका लागि प्रेरित गर्ने, नेपालका लघु, घरेलु तथा साना महिला उद्यमीहरुलाई प्रवद्र्धन गर्न र उनीहरुका लागि बजार खोज्न उपयुक्त प्लेटफर्म प्रदान गर्ने, ब्राण्ड र कम्पनीको छवि बढाएर महिला उद्यमीहरूको उत्पादन र सेवाहरू प्रवद्र्धन गर्ने, उत्पादनको बजारीकरणका लागि महिला उद्यमीको सञ्जाल फराकिलो गरी महिलाका लागि लगानीको अवसर खोज्ने, लक्षित प्रदर्शक तथा अवलोकनकर्ताहरुसँग अन्तरक्रिया मार्फत उद्यमशिलताको लागि उद्यमीको सञ्जाल निर्माणमा सहयोग पु¥याउने, उद्यमशीलता सम्बन्धि अनुभवहरु साट्दै संस्कृतिको जर्गेनामा समेत सहयोगी हुने गरी साँस्कृतिक कार्यक्रम समेत आयोजना गर्ने गरी तय गरिएको “तीज विशेष उद्यमशिल एक्स्पो–२०८०” को पहिलो दिन एक विशेष कार्यक्रमका बीच शुभारम्भ गरिनेछ, दोश्रो दिन उद्यमशीलता सम्बन्धित सेमिनार तथा अन्तरक्रिया आयोजना गरिनेछ भने, एक्स्पोको अन्तिम दिन भाद्र २४ गते “उद्यमशीलतामा महिलाको सहभागिता, अवसर र चुनौती” शीर्षकमा उद्यमी महिलाहरुको समूहगत तीज गीत प्रतियोगिता समेत आयोजना गरिने जनाइएको छ।
एक्स्पोमा हस्तकलाका सामानहरु, तीज विशेष सामाग्रीहरु, स्वदेशी लत्ताकपडा, जुत्ता, चप्पल बुटिकका उत्पादनहरु, गिफ्ट आइटम र गरगहना (ज्वेलरी)हरु, खाद्यान्नका परिकारहरु, मेहन्दी, सौन्दर्य सामाग्री र त्यसका सेवाहरु, होम डेकोर, इलेक्ट्रोनिक्स, फर्निचर तथा फर्निसिङका सामाग्रीहरु, भोकेशनल तालिम केन्द्र तथा कलेजहरु, बैक तथा वित्तीय संस्थाहरु, इन्सुरेन्स लगायतका स्टलहरु रहने बताइएको छ ।
निःशुल्क प्रवेशको व्यवस्था गरिएको यस एक्स्पोमा १० हजार भन्दा बढी व्यक्तिले अवलोकन गर्ने र ५० लाख भन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ । एक्स्पोबाट वचत हुन आउने रकमलाई महिला उद्यमी मञ्चले चितवन उद्योग संघ औद्योगिक पाठशाला विभागसँगको सहकार्यमा महिला उद्यमीहरुको सीप विकास तथा क्षमता अभिवृद्धि सम्बन्धि कार्यक्रम सञ्चालन गर्ने आयोजकले जनाएको छ ।













