Skip to content
logo
असाेज ३ गते २०८१ समयः

नेपाल पूर्वाधार सम्मेलनमा ‘पोड वे’ प्रविधिप्रति पूर्व अर्थमन्त्रीसम्मको चासो

मेरो आर्थिक
मेरो आर्थिक
भाद्र २८ गते २०८१
नेपाल पूर्वाधार सम्मेलनमा ‘पोड वे’ प्रविधिप्रति पूर्व अर्थमन्त्रीसम्मको चासो

काठमाडौं– बिहीबारदेखि काठमाडौंका साल्टी होटलमा नेपाल इन्फ्रास्ट्रक्चर समिट २०२४ सुरु भएको छ । दुई दिनसम्म चल्ने पूर्वाधार सम्मेलनले विकास र पूर्वाधारका क्षेत्रमा लगानी जुटाउन र गुणस्तरीय र दिगो पूर्वाधार विकासमा जोड दिने लक्ष्य राखिएको छ ।

पूर्वाधार सम्मेलनका अवसरमा अर्थमन्त्री डा. विष्णु पौडेलले गुणस्तरीय, दिगो र विश्वसनीय पूर्वाधार संरचना निर्माणका लागि सरकारले समेत लगानी गरिरहेको बताए । उनले नेपालको निजिक्षेत्रसँग सहकार्य गर्दै सरकारले पूर्वाधार निर्माणमा वैदेशिक लगानी ल्याउन नीतिगत सहजीकरण गर्ने बताए ।
पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले पनि पूर्वाधार विकासमा सरकारको ठूलो लगानी भएको बताउँदै बाँकी वैदेशिक लगानी समेत भित्र्याउन सरकारले पहल गरिरहेको बताए । पूर्वाधार सम्मेलनका अवसरमा निर्माणक्षेत्र र पूर्वाधारका क्षेत्रमा काम गर्ने सरोकारवाला, उद्योगी, पूँजीपति, सरकारी अधिकारीलगायतको सहभागीता थियो ।

पूर्वाधार सम्मेलनका अवसरमा सोल्टी होटलमा विभिन्न निकायका व्यवसायिक स्टल समेत राखिएको थियो । सम्मेलनका अवसरमा पूर्वाधार, यातायात, बैंक, बीमा, निर्माण क्षेत्रका २० वटा भन्दा बढी व्यवसायिक स्टलहरू समेत राखिएको छ ।

सम्मेलनमा राखिएका स्टलहरुमध्ये अधिकांश सहभागी वक्ताहरुले वैकल्पिक यातायातको गतिलो माध्यम बनेको ‘पोड वे’ को स्टललाई नियालेका थिए ।

नेपालमा नयाँ र नवितम सार्वजनिक यातायातको माध्यमको रुपमा पोड वे प्रविधि नेपालमा भित्रिएको हो ।

‘पोड वे’ प्रविधि नेपालमा भित्र्याउन सके सार्वजनिक यातायातको गतिलो र दिगो माध्यम बन्न सक्ने वक्ताहरुको भनाइ थियो । चालू अवस्थामा रहेका सडकको दुवै किनारमा मुआब्जाको समस्या नभइ सर्वसुलभ सार्वजनिक यातायातको माध्यम पोड वे बन्ने पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाको प्रतिक्रिया थियो ।

डा. खतिवडा पनि काठमाडौं पोड वे कम्पनीले राखेको स्टलमा पुगेर पोड वे प्रविधिका बारेमा थप जानकारी लिनुभएको थियो । पूर्वमन्त्री खतिवडाले पोड वे प्रविधिको विकास गर्न सरकारले कानुनी रुपमा सम्बोधन गरिसकेको बताए ।

‘पोड वे’ सञ्चालनका लागि आवश्यक नीतिगत व्यवस्था गरी पोडवेको अध्ययन तथा निर्माणका लागि सरकारले सहजीकरण गर्नुपर्ने काठमाडौं पोड वे कम्पनीका उपाध्यक्ष नील भट्टराइले बताए ।

उनी भन्छन, ‘बेलारुसबाट प्रविधि भित्र्याएपछि पहिलो पटक हामीले काठमाडौँको गोणर्केश्वर नगरपालिकामा एउटा कार्यक्रम राख्यौँ। तत्कालीन मेयर सन्तोष चालिसे र प्राविधिकहरूको पहलमा त्यस क्षेत्रको २७ किलोमिटरमा अध्ययन गरायौँ। जहाँ भइरहेको घुमाउरो, साँघुरो र नदी कोरिडोरको सडकमाथिबाट पोड वे लैजाने गरी अध्ययन पनि भयो। उहाँहरूले निर्विवाद रूपमा अध्ययन गर्न दिनुभयो। यो प्रविधि सहरी क्षेत्रमा अति नै उपयोगी देखिन्छ।’

काठमाडौं पोडवे कम्पनीले काठमाडौं उपत्यकाभित्रका विभिन्न नगरपालिकालाई जोड्ने गरी १०० किलोमिटरमा पोड वे सञ्चालनका लागि अध्ययन गरिसकेको भट्टराइले बताए। काठमाडौं चक्रपथ, कौशलटार–नैकाप, बुढानीलकण्ठ–कीर्तिपुर, तारकेश्वर–टोखा हुँदै चक्रपथ, रत्नपार्क–बानेश्वर हुँदै चक्रपथ, गोकर्णेश्वर–बौद्ध–आरुबारी–दक्षिणढोकाक्षेत्रसम्म उक्त प्रविधि विस्तार गर्न सकिने अध्ययनले देखाएको उनको भनाइ छ ।

त्यस्तै, काठमाडौं उपत्यकाबाहिर कर्णाली प्रदेशअन्तर्गत सुर्खेत–हुम्ला (लिमी) सम्म २३१ किलोमिटर क्षेत्रमा पनि पोडवे सञ्चालन गर्न सकिने गरी पूर्व सम्भाव्यता अध्ययन कार्य गरिसकिएको भट्टराइले बताए। कर्णाली प्रदेश सरकारलाई उक्त अध्ययन रिपोर्ट बुझाइसकिएको उनले बताए।

त्यस्तै, कोशी प्रदेशअन्तर्गत जोगवनी–धरान–उत्तराखण्ड हुँदै पूर्व जोड्ने गरी ८३ किलोमिटरमा उक्त प्रविधि विस्तार गर्न सकिने गरी अध्ययन भइसकेको छ भने लुम्बिनी क्षेत्रमा करिब ६ किलोमिटरमा पोडवे प्रविधि विस्तार गर्न अध्ययन भइसकेको र अध्ययन प्रतिवेदन प्रदेश सरकारलाई बुझाइसकिएको कम्पनीले जनाएको छ।

के हो ‘पोड वे’ ?

उच्च प्रविधियुक्त सार्वजनिक यातायातको माध्यम पोड वे हो। यो सडकमाथि स्ट्रिङ (तार) मा विभिन्न डिजाइनका पोड (डब्बा) राखेर गुडाइन्छ। यसलाई पर्सनल ¥यापिड ट्रान्जिट (पीआरटी) भनेर पनि चिन्ने गरिन्छ। यो सार्वजनिक यातायातको त्यस्तो सानो प्रणाली हो, जहाँ निश्चित नेटवर्कभित्र स्वचालित सवारी साधनहरू सञ्चालन हुने गर्छन्।

उच्च प्रविधि भएको माइक्रो रेल नै पोड वे हो। यसमा मान्छे राख्ने ठाउँलाई ‘पोड’ भनिन्छ। पोडको साइज हेरि न्यूनतम ६ जना र त्यसभन्दा बढी यात्रुले सहजै यात्रा गर्न सकिन्छ ।

Add a new comment