केयूको भाषा तथा आमसञ्चार विभागले एक अन्तरराष्ट्रिय सङ्गोष्ठी आयोजना गर्ने
मेरो आर्थिक
वैशाख २५ गते २०८१
समयः ३:२३ pm
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को भाषा तथा आमसञ्चार विभागले एक अन्तरराष्ट्रिय सङ्गोष्ठी आयोजना गर्ने भएको छ । ‘साधारणीकरण सञ्चार–ढाँचाको दुई दशक’ शीर्षकमा विश्वविद्यालयको स्कुल अफ आर्ट्स् परिसर, हात्तीवन, ललितपुरमा आगामी जेठ १३ मा आयोजना गरिने उक्त अन्तर्राष्ट्रिय सङ्गोष्ठीमा नयाँ दिल्ली, भारतस्थित साउथ एशियन युनिभर्सिटी (दक्षिण एशियाली विश्वविद्यालय) का कुलपति प्राध्यापक के.के. अग्रवाल प्रमुख अतिथि रहनु हुनेछ ।।
यसैगरी, अमेरिकाको हिलोस्थित हवाई युनिभर्सिटीका प्राध्यापक योशिताका माइक मुख्य वक्ता (कीनोट स्पीकर) का रूपमा सहभागी हुनु हुनेछ भने अन्तर्राष्ट्रिय सङ्गोष्ठीको उदघाटन सत्रको अध्यक्षता केयुका उपकुलपति प्राध्यापक भोला थापाले गर्नु हुनेछ ।
यस अन्तर्राष्ट्रिय गोष्ठीमा भारतस्थित माखनलाल चतुर्वेदी विश्वविद्यालय (एमसीयू) का पूर्वउपकुलपति प्राध्यापक बी.के. कुठियाला, एमसीयूकै वर्तमान उपकुलपति प्राध्यापक के.जी. सुरेश, चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एण्ड टेक्नोलोजीअन्तर्गत स्कुल अफ पोलिटिक्स एण्ड पब्लिक एडमिनिस्ट्रेसनका उपाध्यक्ष हान हङ, इण्डोनेसियाको बालीस्थित पोलिटेक्निक नेगेरी (विश्वविद्यालय) का प्राध्यापक इदा बागुस पुटु सुअम्बा लगायतले वक्ताका रूपमा सहभागिता जनाउने निश्चित भइसकेको छ । गोष्ठीको आयोजना, सञ्चालन र व्यवस्थापनका लागि सहप्राध्यापक डा. सुधांशु दाहालको संयोजकत्वमा मूल समिति तथा त्यसका मातहत विभिन्न १० वटा उपसमितिहरू गठन भई क्रियाशील छन् ।
केयूका सहप्राध्यापक एवम् भाषा तथा आमसञ्चार विभागका प्रमुख डा. निर्मलमणि अधिकारीद्वारा सन् २००३ मा अभिनिर्मित ‘सञ्चारको साधारणीकरण ढाँचा’ ले दुई दशक पूरा गरेको अवसरमा अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्न लागिएको हो । उक्त सञ्चार ढाँचा हाल विश्वका अनेकौँ विश्वविद्यालयहरूमा औपचारिक पाठ्यक्रममा समावेश गरी पठनपाठन भइरहेको छ । साथै, यसबारे स्नातकोत्तर तथा पीएचडी तहमा शोधार्थीहरूले थप अनुसन्धान पनि गरिरहेका छन् ।
कार्यक्रममा स्वदेश–विदेशका प्राध्यापक, शिक्षक, सञ्चार अनुसन्धाता, पीएचडी शोधार्थी लगायत गरी करिब सय जना विज्ञहरूले सञ्चारको साधारणीकरण ढाँचाका विविध पक्ष र आयाम तथा सञ्चार सिद्धान्तका अनेकौं पक्षमा केन्द्रित कार्यपत्र प्रस्तुत हुनेछन् । सङ्गोष्ठी ‘हाइब्रिड मोड’ मा हुने भएकाले केही प्रस्तोताले भर्चुअल माध्यमबाट र केहीले भने सशरीर सहभागी भएर आ–आफ्ना कार्यपत्र प्रस्तुत गर्नेछन् ।