काठमाडौं , स्वास्थ्य क्षेत्रमा आवश्यक जनशक्ति अभावलाई मध्यनजर गर्दै सरकारले ९७७ स्थायी प्राविधिक तथा विशेषज्ञ पद थप्ने प्रक्रिया अघि बढाएको छ। स्वास्थ्य मन्त्रालयले पेश गरेको प्रस्तावलाई अर्थ मन्त्रालयले स्वीकृति दिएको मन्त्रालय स्रोतले जनाएको छ।
स्वास्थ्य मन्त्री निशा महेताको सचिवालयका अनुसार नयाँ दरबन्दी थप्ने प्रस्ताव बुधबार अर्थ मन्त्रालयबाट स्वीकृत भएको हो। अब उक्त प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरिनेछ र मन्त्रिपरिषद्को निर्णयपछि कार्यान्वयन प्रक्रिया अगाडि बढ्ने बताइएको छ।
स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार लामो समयदेखि अस्पताल तथा स्वास्थ्य संस्थामा दक्ष जनशक्तिको अभाव रहेको थियो। देशको जनसंख्या वृद्धि र संघीय संरचनाअनुसार सेवा विस्तार भए पनि स्थायी दरबन्दी पुरानै संरचनामा सीमित हुँदा सेवा प्रवाह प्रभावित हुँदै आएको थियो।
करिब तीन दशकपछि स्वास्थ्य क्षेत्रमा स्थायी दरबन्दी थप गर्न लागिएको बताइएको छ। यसअघि पनि विभिन्न समयमा दरबन्दी विस्तारको प्रयास भए तापनि स्वीकृति हुन सकेको थिएन।
स्वास्थ्यकर्मी संगठन तथा विज्ञहरूले समेत लामो समयदेखि आवश्यक जनशक्ति थप गर्न सरकारसँग माग गर्दै आएका थिए। नयाँ दरबन्दी स्वीकृत भएपछि स्वास्थ्य सेवा व्यवस्थापन थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।












