नेपाल इन्फ्रास्ट्रकचर बैंकको नाफामा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ७३ प्रतिशतले नाफामा वृद्धि भएको हो । आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमाससम्म बैंकको नाफा बढेर ७६ करोड ६१ लाख ६० हजार रुपैयाँ भएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा बैंकले ४४ करोड २६ लाख ४८ हजार नाफा गरेको थियो ।
पछिल्लो समय बैंकले कर्जामा विस्तार गरेपछि आम्दानी बढेको हो । ठूला आयोजना, भौतिक पूर्वाधार तथा विकास परियोजनमा लगानी गर्ने उद्देश्यसहति सकारको पनि लगानीमा स्थापित बैंकले २०७९ पुस मसान्तसम्ममा कुल १९ अर्ब ८२ करोड ३० लाख ९५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
जसबाट बैंकले दोस्रो त्रैमाससम्म १ अर्ब ३२ करोड ४९ लाख ४८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवको अवधिमा बैंकले ८ अर्ब १३ करोड ६४ लाख ७८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
पुस मसान्तमा बैंकको सञ्चालन नाफा १ अर्ब ९ करोड ४५ लाख १५ हजार रहेको छ । २१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा तथा सञ्चित कोषमा १ अर्ब ६६ करोड ९६ लाख २० हजार रहेको छ । बैंकले पुस मसान्तसम्म ५७ करोड ७९ लाख ५४ हजार निक्षेप र २ अर्ब २८ करोड २३ लाख १३ हजार रुपैयाँ ऋणपत्रमार्फत स्रोत संकलन गरेको छ ।











