शुक्रबारदेखि आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिता
मेरो आर्थिक
माघ ७ गते २०८०
समयः ९:२४ am
आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताको १५औँ संस्करण दक्षिण अफ्रिकामा सुरु भएको हो । हालसम्म न्युजिल्यान्डविरुद्ध अपराजित रहेको नेपाले सन् २००६ र २०१६ मा न्युजिल्यान्डलाई हराएको थियो भने यू-१९ विश्वकपमा नेपालले आज आफ्नो पहिलो खेलमा न्युजिल्यान्डसँग नै खेल्दैछ । खेल नेपाली समयअनुसार १:४५ बजे सुरु हुनेछ ।
यू-१९ विश्वकप ५० ओभरको प्रतियोगिता हो । यू-१९ विश्वकप सुरु हुनुअघि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सहभागी १६ वटै राष्ट्रका लागि दुई-दुईवटा अभ्यास खेल खेलाउने व्यवस्था मिलाएको थियो । नेपालले आफ्नो पहिलो अभ्यास खेलमा स्कटल्यान्डलाई ‘डकवर्थ एन्ड लेविस’ नियमका आधारमा सात विकेटले हराएको थियो ।
नेपाल,अफगानिस्तान र पाकिस्तान रहेको प्रतियोगिताको समूह ‘डी’ मा जनवरी २४ तारिखमा नेपालले पाकिस्तानसँग आफ्नो दोस्रो खेल खेल्नेछ । नेपालले तेस्रो खेल जनवरी २७ तारिखमा अफगानिस्तानसँग खेल्नेछ ।
नेपाल क्रिकेट संघ (क्यान) ले यू-१९ विश्वकपका लागि देव खनालको कप्तानीमा टोलीको घोषणा गरेको छ । घोषित नेपाली टोलीमा अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सनकुमार झा, दीपेशप्रसाद कँडेल, विशालबिक्रम केसी, सुवास भण्डारी र दीपक बोहरा रहेका छन् । उत्तम रंगु थापामगर, बिपिन रावल, तिलकराज भण्डारी, दीपक बोहरा र आकाश चन्द पनि टोलीमा रहेका छन् ।
समूहगत चरणको खेलको समाप्तिपछि प्रत्येक समूहको माथिल्लो स्थानमा रहने तीन-तीन टोली प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा प्रवेश गर्नेछन् । ‘सुपर सिक्स’ चरणमा पुगेका टोलीलाई पनि दुई समूहमा विभाजन गरिने छ । समूह ‘ए’ र समूह ‘डी’ बाट आएका तीन-तीन टोली एउटा समूहमा रहने छन् । समूह ‘बी’ र समूह ‘सी’ बाट आएका तीन-तीन टोली भने ‘सुपर सिक्स’ चरणको अर्को समूहमा रहने छन् । ‘सुपर सिक्स’ चरणमा प्रत्येक टोलीले दुई-दुई खेल खेल्नेछन् ।
समूह ‘ए’ को विजेताले समूह ‘डी’ को उपविजेता र तेस्रो हुने टोलीसँग मात्र खेल्नेछ । समूह ‘डी’ को विजेताले पनि ‘सुपर सिक्स’ चरणमा समूह ‘ए’ को उपविजेता र तेस्रो हुने टोलीसँग मात्र प्रतिस्पर्धा गर्नेछ ।
‘सुपर सिक्स’ चरणको खेलपछि दुवै समूहको माथिल्लो स्थानमा रहने दुई-दुई टोली यू-१९ विश्वकपको १५औँ संस्करणको सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको सेमिफाइनलमा ‘सुपर सिक्स’ चरणको एउटा समूहमा पहिलो भएको टोलीले अर्को समूहमा दोस्रो भएको टोलीसँग प्रतिस्पर्धा गर्नेछन् ।
त्यसपछि सेमिफाइनल खेलमा विजयी हुने दुवै टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल खेल फेब्रुअरी ११ तारिखमा खेलिने छ । भारत यू-१९ विश्वकपको साविक विजेता राष्ट्र हो ।