माघ २४ गते २०८२ --:--:--
मेनु

इटाली शीतकालीन ओलम्पिकका पदक इतिहासकै सबैभन्दा महँगो

मेरो आर्थिक मेरो आर्थिक माघ २३ गते २०८२ ५:२७ PM
इटाली शीतकालीन ओलम्पिकका पदक इतिहासकै सबैभन्दा महँगो

काठमाडौँ । इटालीमा आयोजना हुने शीतकालीन ओलम्पिक खेलकुद प्रतियोगितामा विजेता खेलाडीहरूले इतिहासकै सबैभन्दा महँगो ओलम्पिक पदक प्राप्त गर्ने भएका छन् । अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुहरू विशेषगरी सुन र चाँदीको मूल्य तीव्र रूपमा बढेकाले पदकको मूल्य अहिलेसम्मकै उच्च भएको हो ।

शीतकालीन ओलम्पिकका विभिन्न प्रतिस्पर्धा स्कीइङ, आइस हक्की, फिगर स्केटिङदेखि कर्लिङसम्ममा सहभागिता जनाउने विश्वका उत्कृष्ट खेलाडीहरूलाई ७०० भन्दा बढी स्वर्ण, रजत र कास्य पदक प्रदान गरिनेछ ।

भावनात्मक मूल्य मापन गर्न नसकिने भए पनि नगद मूल्यका हिसाबले यी पदकहरू अहिलेसम्मकै महँगा हुनेछन् । तथ्याङ्क विश्लेषण संस्था ‘फ्याक्टसेट’ का अनुसार सन् २०२४ जुलाईमा भएको पेरिस ओलम्पिकपछि सुनको मूल्य करिब १०७ प्रतिशत र चाँदीको मूल्य झण्डै २०० प्रतिशतले वृद्धि भएको छ । यस वृद्धिका कारण अहिले स्वर्ण पदकको धातुगत मूल्य करिब २३०० अमेरिकी डलर पुगेको छ, जुन पेरिस ओलम्पिकको तुलनामा दोब्बरभन्दा बढी हो । दोस्रो स्थानमा आउने रजत पदकको मूल्य करिब १४०० डलर पुगेको छ, जुन दुई वर्षअघिको तुलनामा तीन गुणा बढी हो ।

विशेषज्ञहरूका अनुसार चाँदीको मूल्य बढ्नुमा खुद्रा लगानीकर्ताको बढ्दो मागले भूमिका खेलेको छ भने विश्वव्यापी राजनीतिक अस्थिरताबीच सुरक्षित लगानीको रूपमा सुनप्रति आकर्षण बढेकाले यसको मूल्य उकालो लागेको हो । 

विजेता खेलाडीहरूले प्राप्त गर्ने पदकहरू इटालीको राज्य टकसाल तथा पोलिग्राफिक संस्थानद्वारा पुनःप्रयोग गरिएका धातुबाट तयार गरिएका हुन् । तर स्वर्ण पदक पूर्ण रूपमा सुनबाट बनेका हुँदैनन् । एक स्वर्ण पदकको कुल तौल ५०६ ग्राम भए पनि त्यसमा केवल ६ ग्राम मात्र शुद्ध सुन प्रयोग गरिएको हुन्छ भने बाँकी भाग चाँदीको हुन्छ । कास्य पदक तामाबाट बनाइन्छ र ४२० ग्राम तौलको एक कास्य पदकको धातुगत मूल्य करिब ५.६० डलर मात्र रहेको आयोजकहरूले जनाएका छन् ।

इतिहास हेर्दा सन् १९१२ मा स्विडेनको स्टकहोममा भएको ओलम्पिकपछि शुद्ध सुनबाट बनेका पदक वितरण हुन छाडिएको लन्डनस्थित नीलामी संस्था ‘बाल्ड्विन्स’ ले जनाएको छ । त्यतिबेलाका २६ ग्राम तौलका स्वर्ण पदकहरूको मूल्य तत्कालीन सुनको दरअनुसार २० डलरभन्दा कम थियो, जसलाई आजको मुद्रास्फीति अनुसार समायोजन गर्दा करिब ५३० डलर बराबर हुन्छ ।

तर संग्रहणीय वस्तुको रूपमा ओलम्पिक पदकहरूको मूल्य धातुको मूल्यभन्दा धेरै बढी हुन सक्ने बताइन्छ । सन् २०१५ मा उक्त संस्थाले १९१२ को स्टकहोम ओलम्पिकको एक स्वर्ण पदक १९ हजार पाउन्डमा बिक्री गरेको थियो । त्यसैगरी १९२० को एन्टवर्प ओलम्पिकको सहभागी कास्य पदक ६४० पाउन्डमा बिक्री भएको थियो । यद्यपि अधिकांश ओलम्पिक खेलाडीहरूले आफ्ना पदक बिक्री भने गर्दैनन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?