काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्व ऊर्जा आपूर्तिमा असर पर्ने चिन्ता बढ्दै जाँदा तेल र प्राकृतिक ग्यासको मूल्य मंगलबार पनि तीव्र रूपमा बढेको छ । अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मुल्य ६ प्रतिशतले बढेर प्रतिव्यारेल ८२ डलर पुगेको छ । यो जुन २०२५ यताकै उच्च स्तर हो ।
अमेरिकन सूचक डब्लुटीआई (डब्लुटीआई ) पनि ६ प्रतिशतले उकालो लाग्दै ७५.६ डलर प्रतिव्यारेल पुगेको छ । यता युरोपियन प्राकृतिक ग्यासको मूल्य झन् तीव्र रूपमा बढेको छ । युरोपको मानक ग्यास फ्युचर्स ३४ प्रतिशतले बढेर प्रति मेगावाट आवर करिब ५९ युरो (६८ डलर) पुगेको छ । कतारको सबैभन्दा ठूलो ग्यास उत्पादक कम्पनीले उत्पादन रोक्ने निर्णय गरेपछि मुल्य चर्किएको हो । इरानले खाडी क्षेत्रमा ऊर्जा पूर्वाधारलाई निशाना बनाएको दाबीपछि यस्तो निर्णय गरिएको जनाइएको छ ।
विश्लेषकहरूका अनुसार अमेरिका-इजरायल र इरानबीचको द्वन्द्व चौथो दिनमा प्रवेश गरेसँगै मध्यपूर्वबाट हुने तेल र ग्यास निर्यात अवरुद्ध हुन सक्ने चिन्ता बढेको छ । विश्वको महत्वपूर्ण जलमार्ग मानिने होर्मुज जलडमरूमध्य प्रभावकारी रूपमा बन्द हुँदा ऊर्जा आपूर्ति प्रभावित हुने देखिएको छ ।
ऊर्जा बजारको उतारचढावको असर विश्व शेयर बजारमा पनि परेको छ । दक्षिण कोरियाको कोस्पी सूचक ७ प्रतिशतभन्दा बढीले घटेको छ । जापान र हङकङका प्रमुख सूचकहरू पनि ओरालो लागेका छन् ।
युरोपमा लन्डनको एफटीएसई १०० सूचक बिहानको कारोबारमा २.७ प्रतिशतले घटेको छ । जर्मनीको ड्याक्स ३.४ प्रतिशतले झरेको छ भने फ्रान्सको क्याक सूचक २.८ प्रतिशतले तल आएको छ । अमेरिकन फ्युचर्स बजारले पनि तीव्र गिरावटका संकेत देखाएको छ ।
ऊर्जा आपूर्तिमा अनिश्चितता कायम रहे विश्व अर्थतन्त्रमा थप दबाब पर्न सक्ने विश्लेषण गरिएको छ ।













