फागुन २१ गते २०८२ --:--:--
मेनु

प्रतिनिधिसभा निर्वाचन आज: देशभर बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान

मेरो आर्थिक मेरो आर्थिक फागुन २१ गते २०८२ ६:२५ AM
प्रतिनिधिसभा निर्वाचन आज: देशभर बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान

काठमाडौं। विशेष राजनीतिक परिस्थितिपछि हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज देशभर मतदान हुँदैछ। निर्वाचन आयोग का अनुसार नेपालका सबै ७७ जिल्लामा बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान सञ्चालन हुनेछ।

१६५ प्रत्यक्ष र ११० समानुपातिक सिटका लागि प्रतिस्पर्धा

यस निर्वाचनमा ‘पहिलो हुने निर्वाचित हुने प्रणाली’ अन्तर्गत १६५ प्रत्यक्ष निर्वाचन क्षेत्रका लागि मतदान हुँदैछ भने समानुपातिकतर्फ ११० सिटका लागि प्रतिस्पर्धा भइरहेको छ।

प्रत्यक्षतर्फ ६५ राजनीतिक दल ६१ निर्वाचन चिह्नसहित मैदानमा उत्रिएका छन्। यसतर्फ ३,०१७ पुरुष, ३८८ महिला र एक अन्य गरी कुल ३,४०६ उम्मेदवार प्रतिस्पर्धामा छन्।

समानुपातिक प्रणालीतर्फ १,३६३ पुरुष र १,७७२ महिला गरी ३,१३५ उम्मेदवार सहभागी छन्।

करिब १ करोड ८९ लाख मतदाता

आयोगका अनुसार यसपटक ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता मतदानका लागि योग्य छन्।

त्यसैगरी १ लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम गरिएको छ।

देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ। थप १४३ अस्थायी मतदानस्थल पनि तय गरिएको आयोगले जनाएको छ।

ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त तथा गर्भवती महिलालाई प्राथमिकताका आधारमा मतदान सुविधा उपलब्ध गराइने व्यवस्था गरिएको छ।


झण्डै तीन लाख सुरक्षाकर्मी परिचालन

निर्वाचन सुरक्षाका लागि व्यापक सुरक्षा व्यवस्था मिलाइएको छ।

  • ७९,७२७ जना नेपाली सेना
  • ७५,७९७ जना नेपाल प्रहरी
  • ३४,५६७ जना सशस्त्र प्रहरी बल

परिचालन गरिएको छ।

त्यसैगरी राष्ट्रिय अनुसन्धान विभागका १,९२१ जना र निर्वाचन प्रहरी १ लाख ४९ हजार ९० जना खटाइएको छ। निर्वाचन सम्पन्न गराउन करिब २ लाख १५ हजार कर्मचारी परिचालन भएका छन्।


४ करोडभन्दा बढी मतपत्र छपाइ

प्रत्यक्ष र समानुपातिक प्रणालीतर्फ कुल ४ करोड २२ लाख ५१ हजार २०० मतपत्र छपाइ गरी सम्बन्धित मतदान केन्द्रमा पुर्‍याइसकिएको आयोगले जनाएको छ।

यस निर्वाचनको पर्यवेक्षणका लागि ४ अन्तर्राष्ट्रिय तथा ३९ राष्ट्रिय संस्थाहरू खटिएका छन्।


शीर्ष नेतृत्वको मतदान आह्वान

राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की तथा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले नागरिकलाई उत्साहपूर्वक मतदानमा सहभागी हुन आह्वान गरेका छन्।

गृहमन्त्री ओमप्रकाश अर्याल ले पनि पर्याप्त सुरक्षा प्रबन्ध मिलाइएको उल्लेख गर्दै निर्धक्क भएर मतदान गर्न आग्रह गरेका छन्।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?