काठमाडौंमा नदी किनार क्षेत्रमा फैलिएका अनधिकृत बस्ती हटाउने सरकारी अभियान आज बिहानदेखि सुरु गरिएको छ। जिल्ला प्रशासन कार्यालयको निर्देशनअनुसार बिहान ७ बजेदेखि विभिन्न स्थानमा एकैपटक संरचना हटाउने काम अघि बढाइएको हो।
महानगरपालिकाका वडा नम्बर ११ (वंशीघाट), १४ (बल्खु), १५ (स्वयम्भू), १६ (बालाजु) तथा वडा ३ र २६ अन्तर्गत पर्ने सामाखुशी, खाडिपाखा र रानीबारी क्षेत्रलाई लक्षित गरी अभियान सञ्चालन गरिएको जनाइएको छ। यस कार्यका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी परिचालन भइसकेका छन्।
प्रशासनले यसअघि नै सूचना जारी गर्दै तोकिएको समयभित्र बस्ती खाली गर्न आग्रह गरेको थियो। सूचनालाई बेवास्ता गरी बस्दा हुने सम्भावित क्षतिको जिम्मेवारी स्वयं बासिन्दाले लिनुपर्ने चेतावनी पनि दिइएको छ।
नदी किनार, सार्वजनिक, पर्ती वा निजी जग्गा अतिक्रमण गरी वर्षौंदेखि बसोबास गर्दै आएका बस्तीहरूलाई हटाउने क्रममा मानवीय उद्धार तथा विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिइएको प्रशासनले जनाएको छ।
डोजर प्रयोगको सूचना सार्वजनिक भएसँगै केही क्षेत्रमा बासिन्दा आफैं सुरक्षित स्थानतर्फ सर्न थालेका छन्। यसअघि पनि वैशाख १२ गतेदेखि थापाथली, गैरीगाउँ, सिनामंगल र मनोहरा आसपासका बस्तीमा यस्तै अभियान सञ्चालन भइसकेको थियो।
बस्ती खाली गराउने क्रममा प्रशासनले प्रभावित नागरिकलाई विभिन्न सावधानी अपनाउन आग्रह गरेको छ। विशेषगरी बिरामी, ज्येष्ठ नागरिक, बालबालिका र गर्भवतीलाई प्राथमिकताका साथ सुरक्षित स्थानमा सार्न भनिएको छ। आवश्यक परे सुरक्षाकर्मीको सहयोग लिन तथा व्यक्तिगत सामान र पशुचौपाया समेत सुरक्षित रूपमा सार्न अनुरोध गरिएको छ।
सरकारले वास्तविक भूमिहीनको पहिचान गरी वैकल्पिक बसोबासको व्यवस्था गर्ने तथा बालबालिकाको शिक्षाको जिम्मेवारी समेत लिने जनाएको छ। साथै, गलत दाबी गर्नेहरूमाथि कानुनी कारबाही गरिने चेतावनी दिइएको छ।
प्रशासनले यो अभियानलाई सहयोग गर्न सबैसँग अपिल गर्दै अफवाह वा दबाबमा नपर्न आग्रह गरेको छ।













