काठमाडौं । नेपालको अग्रणी सञ्चार संस्था हिमालय टेलिभिजन नेटवर्कले नयाँ खेलकुद केन्द्रित च्यानल ‘हिमालय स्पोर्ट्स’ सार्वजनिक गरेको छ । राजधानीमा शुक्रबार आयोजित विशेष समारोहमार्फत च्यानलको औपचारिक घोषणा गरिएको हो ।
यससँगै हिमालय टेलिभिजनले आगामी फिफा विश्वकप २०२६ को नेपाल प्रसारण अधिकार समेत सुरक्षित गरेको जनाएको छ । अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने विश्वकप प्रतियोगिता नेपालमा प्रत्यक्ष प्रसारण गरिनेछ ।
विश्वकप प्रसारणका लागि हिमालय स्पोर्ट्स र ‘डीगो एप’बीच सहकार्य सम्झौता भएको छ । नेपालका लागि एस प्रो मिडियामार्फत प्राप्त अधिकार अन्तर्गत हिमालय स्पोर्ट्सले दर्शकमाझ विश्वकपका खेलहरू प्रत्यक्ष ल्याउने तयारी गरेको हो ।
कार्यक्रममा बोल्दै हिमालय टेलिभिजन नेटवर्कका अध्यक्ष धर्मराज भुसाल ले नेपाली खेलकुद प्रसारण क्षेत्रमा यो नयाँ अध्याय भएको बताए । उनले विश्वकै प्रतिष्ठित फुटबल प्रतियोगिता नेपाली दर्शकमाझ ल्याउन पाउँदा गौरव महसुस भएको उल्लेख गरे ।
त्यस्तै, हिमालय स्पोर्ट्सका प्रमुख कार्यकारी अधिकृत सुरज गिरी ले नयाँ च्यानलले नेपाली खेल पत्रकारिता र खेल प्रसारण क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।











