काठमाडौं । ग्लोबल आईएमई बैंकले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
बैंकले बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत नदी तटीय क्षेत्रमा ठूलो क्षति पुगेको जनाएको छ । बाढी तथा कटानका कारण स्थानीय बस्ती डुबानमा पर्नुका साथै पुल, सडक र जलविद्युत् आयोजनासहितका भौतिक संरचनामा समेत क्षति पुगेको बैंकको भनाइ छ ।
प्राकृतिक विपद्का क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैंकले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार, प्रभावित नागरिकलाई खाद्यान्न र सुरक्षित आवासको व्यवस्था तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम उपलब्ध गराउन लागेको बैंकले जनाएको छ ।
बैंकले राष्ट्रिय संकट तथा प्राकृतिक विपद्का समयमा आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत निरन्तर सहयोग गर्दै आएको जनाएको छ । यसअघि पनि बाढी, पहिरो, डुबान, भूकम्प तथा महामारीजस्ता विपद्का समयमा बैंकले आर्थिक, भौतिक तथा मानवीय सहायता प्रदान गर्दै आएको थियो ।












