Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

नारायणहिटी हत्याकाण्ड: तत्कालीन राजा वीरेन्द्रको वंश विनासको आज २३ वर्ष

मेरो आर्थिक
मेरो आर्थिक
जेठ १९ गते २०८१
नारायणहिटी हत्याकाण्ड: तत्कालीन राजा वीरेन्द्रको वंश विनासको आज २३ वर्ष

नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्रको वंश विनास भएको थियो ।

राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतीसहितको हत्या भएको थियो । दीपेन्द्रले परिवारका सदस्यहरुलाई गोली हानेको र पछि आफैँलाई गोली हानेको भनेर छानबिन प्रतिवेदन सार्वजनिक गरिएको थियो ।

हरेक महिनाको तेस्रो शुक्रबार चल्ने भोजका समयमा २०५८ जेठ १९ गते राति दरबारमा हत्याकाण्ड भएको थियो। राजदरबारको 'अति सुरक्षित' स्थलमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र लगायत परिवारका अन्य सदस्यको हत्या भएको सो काण्डको चित्तबुझ्दो तथ्य अझै पनि जनतासमक्ष आउन सकेको छैन।

त्यतिबेला नयाँ राजा ज्ञानेन्द्रले जेठ २२ गते बेलुका एक शाही घोषणा गर्दै राजदरबारमा घटेको दुःखद घटनाको यथार्थ विवरण जनसमक्ष ल्याउने प्रक्रियास्वरुप तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा एक उच्चस्तरीय समिति गठन गरेका थिए। सो समितिमा तत्कालीन सभामुख तारानाथ रानाभाट र प्रतिनिधिसभाका प्रतिपक्षी दलका नेता माधवकुमार नेपाललाई समेत सदस्य तोकिएको थियो। यद्यपि, नेपाल सो समितिमा बसेनन्। उनले राजीनामा दिएका थिए।

बाँकी दुई सदस्यीय समितिले जेठ ३२ गते प्रतिवेदन बुझायो। २६ गतेदेखि काम सुरु गरेको समितिलाई सुरुमा काम सुरु गरेको मितिले ३ दिन समय दिइएकाे थियो। पछि फेरि ४ दिन थपिएको थियो।

समितिले सम्पूर्ण प्रतिवेदनलाई ३ भागमा विभाजन गरेको थियो। पहिलो भागमा समितिको गठन तथा कार्यप्रक्रिया उल्लेख छ। दोस्रो भागमा घटनासँग सम्बन्धित तथ्य एवम् तथ्यांकहरुको प्रस्तुति थियो। र, तेस्रो भागमा घटनाको 'यथार्थ विवरण' उल्लेख थियो।

सोही प्रतिवेदनको तेस्रो भाग अर्थात् प्रतिवेदनमा भनिएको 'घटनाको यथार्थ विवरणलाई जस्ताकाे त्यस्तै यहाँ प्रस्तुत गरेको छ।

भाग-३

घटनाको यथार्थ विवरण
नारायणहिटी राजदरबारमा २०५८ जेठ १९ गते शुक्रबार राति घटेको घटनाको यथार्थ तथ्य संकलन गर्ने क्रममा यस उच्चस्तरीय समितिबाट घटनास्थलको अवलोकन, भौतिक चीज वस्तुको संकलन र वैज्ञानिक परीक्षण, घटना प्रत्यक्ष रूपमा देख्ने, घटनाबाट पीडित, एवं शाहीरक्षकहरू लगायतका उद्धारकार्यमा संलग्न व्यक्तिहरू, उपचारकार्यमा संलग्न चिकित्सकहरू लगायतका व्यक्तिहरूसंग सोधपुछ गर्ने कार्य गरियो। यसका अतिरिक्त छानबिनका क्रममा बुझिएका मानिसहरूबाट खुल्न आएको तथ्यका सन्दर्भमा बुझ्न आवश्यक देखिएका मानिसहरूसँग बुझ्ने, सोधपुछ गर्ने एवं सम्बन्धित ठाउँहरूबाट आवश्यक रेकर्ड कागजात झिकाउने समेतका कार्यहरू गरी छानबिनबाट निम्न बमोजिमको तथ्य खुल्न आएको छः–

१. नारायणहिटी राजदरबारमा हरेक महिनाको तेस्रो शुक्रबार राति नियमित रूपमा पारिवारिक जमघटको आयोजना गर्ने परम्परा रहे अनुसार २०५८ जेठ १९ गते शुक्रबार पनि जमघटको आयोजना भएको पाइयो। नारायणहिटी राजदरबारको त्रिभुवन सदनमा आयोजना गरिएको सो जमघटमा श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव (यसपछि श्री ५ महाराजाधिराज भनिएको), श्री ५ बडामहारानी ऐश्वर्य राज्यलक्ष्मी देवीशाह (यस पछि श्री ५ बडामहारानी भनिएको), श्री ५ मुमाबडामहारानी रत्न राज्यलक्ष्मी देवी शाह (यस पछि श्री ५ मुमा बडामहारानी भनिएको), श्री ५ युवराजाधिराज दीपेन्द्र वीर विक्रम शाह (यस पछि श्री ५ युवराजाधिराज भनिएको), श्री ५ अधिराजकुमार नीराजन वीर विक्रम शाहका अतिरिक्त राजपरिबारका अन्य सदस्यहरू एवं शाही–नातेदारहरू गरी २४ जनालाई राति ७:३० बजे आमन्त्रण गरिएकोमा आमन्त्रितमध्ये श्री ५ अधिराजकुमारी प्रेक्षा राज्यलक्ष्मी देवी शाह, कुमार श्री मोहनबहादुर शाही र राजकुमारी विमला सिंह गरी ३ जना वाहेक अन्य सबैको उपस्थिति रहेको तथ्य श्री ५ महाराजाधिराजका प्रमुख सचिवालयको २६ जेठ २०५८ को पत्रबाट खुल्न आएको छ। आमन्त्रित पाहुनाहरूको नामावली अनुसूचीमा समावेश गरिएको छ।

२. उल्लिखित जमघट कार्यक्रम आयोजना गरिएको स्थान श्री ५ युवराजाधिराजको खोपी रहेको बंगला त्रिभुवन सदनमा राति ७:३० बजेभन्दा अगाडि नै सर्वप्रथम श्री ५ युवराजाधिराज उपस्थित भएको तथ्य शाही पाश्र्ववर्ती गजेन्द्र वोहरा समेतको भनाइबाट पुष्टि भएको छ। त्यसपछि क्रमशः आमन्त्रितहरूको आगमन भएको देखिन्छ। राति ८ बजे श्री ५ युवराजाधिराजले आफ्नो मोटरबाट श्री ५ मुमाबडामहारानी राज हुने बंगला महेन्द्र–मञ्जिल सवारी भई श्री ५ मुमा बडामहारानीलाई मौसूफको मोटर आफैले चलाई जमघटस्थान त्रिभुवन सदनमा सवारी चलाइबक्सेको देखिन आयो।

श्री ५ मुमा बडामहारानी विलियार्ड कोठाको पूर्वतर्फ सानो बैठक भनिने कोठामा श्री ५ अधिराजकुमारी हेलेन शाहसँग राजभइबक्स्यो। राजपरिवारका सदस्य एवं शाही नातेदारहरूको उपस्थिति भैसकेपछि अन्तमा राति करिब ८:३० बजे श्री ५ महाराजाधिराज मौसूफको अफिसबाट सिधै त्रिभुवन सदनमा पैदल सवारी भई श्री ५ मुमा बडामहारानी सरकारको दर्शन गरिबक्सी केही समयको भलाकुसारीपछि विलियार्ड कोठातर्फ सवारी भएको तथ्य घटनाक्रमका प्रत्यक्षदर्शीहरूबाट खुल्न आयो।

३. श्री ५ युवराजाधिराजले ७:३० बजे त्रिभुवन सदनको विलियार्ड कोठामा केही समय एक्लै विलियार्ड खेलिबक्सेको र त्यस क्रममा १/२ पेग निट (पानी नराखी) Famous Grouse ह्विस्की समेत पिइबक्सेको तथ्य मौसूफका एडिसी गजेन्द्र वोहरा र शाही नातेदार महेश्वर सिंह तथा रवि शम्शेर ज.ब.रा. समेतको भनाइबाट देखियो। श्री ५ महाराजाधिराजको त्रिभुवन सदनमा सवारी हुनुभन्दा केही समय अगाडि (करिब १०–१२ मिनेटजति अगाडि) श्री ५ युवराजाधिराज शरीर थाम्न नसकी ढलपल ढलपल गरेको देखि ह्विस्कीको असरले हो कि? भन्ने सम्झी श्री ५ अधिराजकुमार निराजन, श्री ५ शाहज्यादा पारस, कुमार गोरख र डा राजीव समेत ४ जना भई श्री ५ युवराजाधिराजलाई त्रिभुवन सदनभित्र रहेको मौसूफको खोपीमा सवारी चलाएको कुरा बुझिएका प्रत्यक्षदर्शीहरूबाट खुल्न आएको छ।

४. श्री ५ युवराजाधिराज विलियार्ड कोठामा रहँदाकै अवस्थामा राति ८ बजेर १९ मिनेटको समयमा आफ्ना पाश्र्ववर्ती गजेन्द्र वोहरालाई चुरोट ल्याउन मोबाइल फोनबाट हुकुम भएको र हुकुम भए बमोजिम गजेन्द्र वोहराले श्री ५ युवराजाधिराजका शाही अर्दली रामकृष्ण केसीलाई आदेश गरे अनुसार निजले विशेष प्रकारको (शिखर चुरोटमा गाजाँ र अर्को नाम नखुलेको कालो पदार्थ मिसाई तयार गरिएको चुरोट विलियार्ड कोठाको पूर्व ढोकामा गई श्री ५ शाहज्यादा पारस मार्फत् जिम्मा दिइआएको भन्ने निज रामकृष्णबाट जानकारी पाइयो। गाँजा लगायतका कालो पदार्थको व्यवस्था श्री ५ युवराजाधिराजले स्वयं गर्ने गरेको, कहाँबाट ल्याएको हुन्छ भन्ने थाहा नभएको र करिब १ बर्षदेखि आफूले त्यस्तो चुरोट बनाई दिने गरेको कुरा श्री ५ युवराजाधिराजका अर्दली रामकृष्ण केसीले समितिलाई जानकारी दिए। श्री ५ युवराजाधिराजका शाही पाश्र्ववर्ती गजेन्द्र वोहरा र राजु कार्की समेतबाट श्री ५ युवराजाधिराजले त्यस प्रकारको चुरोट पिउने गरिबक्सेको कुरा समिति समक्ष बताएकोले अर्दली रामकृष्ण केसीको भनाइ पुष्टि हुन आउँछ।

प्रतिवेदनमा जे–जसरी प्रस्तुत गरिए पनि प्रतिवेदन प्रतिको अविश्वास र आशंका कायमै छ । धेरैको बिश्लेषण्मा उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ ।

Add a new comment