Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के कस्तो छ अवस्था ?

मेरो आर्थिक
मेरो आर्थिक
फागुन १ गते २०८०
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के कस्तो छ अवस्था ?

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०/८१ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.५ प्रतिशतको सीमाभित्र रहने गरी मौद्रिक व्यवस्थापन गरिने नीति लिइएकोमा पहिलो ६ महिनामा औसत उपभोक्ता मुद्रास्फीति ६.४७ प्रतिशत कायम भएको छ ।  यस्तै वार्षिक बिन्दुगत आधारमा पुसमा उपभोक्ता मुद्रास्फीति ५.२६ प्रतिशत रहेको छ ।

यसैगरी चालु आर्थिक वर्षमा कम्तीमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने मौद्रिक नीतिको लक्ष्य रहेकोमा पुस मसान्तमा १२.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी विनिमय सञ्चिति कायम भएको छ । चालु खाता बचतमा रहेको र शोधनान्तर बचत उल्लेख्य बढेको कारण विदेशी विनिमय सञ्चितिमा वृद्धि भएको बैंकको भनाइ छ । 

यस्तै बैंकिङ प्रणालीमा तरलता स्थिति सहज भएको छ भने अल्पकालीन एवम् दीर्घकालीन ब्याजदरहरु घटिरहेको अर्थवार्षिक समीक्षामा उल्लेख छ । 

यस्तै आर्थिक वर्ष २०८०/८१ को पुस महिनामा वार्षिक बिन्दुगत आधारमा विस्तृत मुद्राप्रदाय १४.३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्राप्रदाय ७.७ प्रतिशतले वृद्धि भएको थियो । आर्थिक वर्ष २०८०/८१ को पुस महिनामा वार्षिक बिन्दुगत आधारमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको कुल निक्षेप १४.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो निक्षेप ९.४ प्रतिशतले बढेको थियो । यसैगरी, आर्थिक वर्ष २०८०/८१ को पुस महिनामा वार्षिक बिन्दुगत आधारमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४.९ प्रतिशत अर्थात रु.२३१ अर्ब २५ करोडले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा ४.० प्रतिशत अर्थात रु.१८० अर्ब ९८ करोडले बढेको थियो ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाले यस बैंकबाट स्थायी तरलता सुविधामार्फत रु.१ अर्ब २० करोड र ओभरनाइट तरलता सुविधामार्फत पटक पटक गरी रु.५१३ अर्ब ९१ करोड गरी कुल रु.५१५ अर्ब ११ करोड तरलता उपयोग गरेका छन् । यस अवधिमा निक्षेप संकलन बोलकबोलमार्फत कुल रु.३१५ अर्ब ५५ करोड तरलता प्रशोचन गरिएको छ ।

तरलता स्थिति सहज भएसँगै पछिल्लो समय अल्पकालीन तथा दीर्घकालीन ब्याजदरहरु घट्दै गएका छन् । २०७९ पुसमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर १०.८९ प्रतिशत रहेकोमा २०८० पुसमा ३.३७ प्रतिशतमा झरेको छ । त्यसैगरी, २०८० पुसमा वाणिज्य बैंकहरुको औसत आधार दर ९.३५ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको पुसमा १०.९१ प्रतिशत रहेको थियो । मौद्रिक नीतिको लचिलो कार्यदिशा, सहज तरलता स्थिति र न्यून ब्याजदरको विद्यमान अवस्थालाई अवसरको रुपमा सदुपयोग गर्न आन्तरिक उत्पादन अभिवृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता विकासमा बढी योगदान गर्ने क्षेत्रहरुतर्फ कर्जा विस्तार गर्न प्रोत्साहित गर्नुपर्ने देखिएको बैंकले जनाएको छ । 

यस्तै बैंकले संस्थागत मुद्धति निक्षेपको ब्याजदर निर्धारण गर्दा व्यक्तिगत मुद्धति निक्षेपमा प्रदान गर्ने ब्याजदरभन्दा १ प्रतिशत बिन्दुले न्यून राखी तय गर्न पाउने व्यवस्था गर्ने भएको छ ।  कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको रु.२ करोडसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था गरिने पनि राष्ट्र बैंकले जनाएको छ ।

https://www.nrb.org.np/contents/uploads/2023/02/Mid-Term-Review-of-Monetary-Policy_FY-2079-80.pdf

Add a new comment