आधारहीन समाचार प्रकाशित गर्ने सञ्चार माध्यमहरु प्रति NIC ASIAको ध्यानाकर्षण

मेरो आर्थिक
फागुन ३ गते २०८०
समयः ८:०८ am

एनआईसी एशिया बैंकले बिना कुनै तथ्य समाचार प्रकाशित गर्ने केही सञ्चार माध्यमहरुमा प्रकाशित तथा प्रसारित समाचारहरु प्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ । बैंकले एक विज्ञप्ती जारी गर्दै यस्ताे जानकारी दिएकाे हाे ।
जारी गरिएको विज्ञप्तीमा लेखिएकाे छ,"केही सञ्चार माध्यमहरुमा बैंकको कर्जा असुली चिन्ताजनक रहेको, बैंकलाई राष्ट्र बैंकले छानबिन गरिरहेको र सोही सन्दर्भमा बैंकको नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेको राजीनामा आएको लगायतका विषयहरुमा प्रकाशित भ्रामक समाचारहरुप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको छ ।"
हाल केही सञ्चार माध्यमहरुले कपोकल्पित रुपमा नेपाल राष्ट्र बैंकले यस बैंकको अनुसन्धान गरिरहेको र सो क्रममा बैंकमा ठूला कमजोरी तथा कैफियतहरु पत्ता लगाइएको भन्ने उल्लेख गरी भ्रामक समाचारहरु प्रकाशित भएको देखिएको छ । तर वास्तवमा हाल यस बैंकमा नेपाल राष्ट्र बैंकको नियमित वार्षिक सुपरीवेक्षण चलिरहेको र उक्त सुपरीवेक्षण नेपाल राष्ट्र बैंकको नियमित क्यालेण्डर अन्तरगत भइरहेको बैङ्कको भनाइ छ । उक्त समाचारहरु सम्पूर्ण रुपमा झुठा र आधारहिन रहेको बैंकले प्रस्ट पारेकाे छ ।
यसै विषयलाई बैंकको नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेको राजीनामासँग जोडेर उनको, प्रमुख कार्यकारी अधिकृतको, अध्यक्षको, सञ्चालकहरुको र समग्र बैंक परिवारको प्रतिष्ठा, इमान्दारिता र कर्तव्यपरायणता समेतमा कपोकल्पित रुपमा हास्यास्पद टिप्पणी हुनु अत्यन्त खेदजनक रहेकोले यस्ता हास्यास्पद समाचारहरुवाट भ्रमित नहुन सम्बन्धित सबैलाई बैंकले विज्ञप्ती मार्फत अनुराेध गरेकाे छ ।