Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

राष्ट्रिय वाणिज्य बैंकद्धारा “आरबीबीएल म्यानेजमेन्ट कन्फेरेन्स २०२४” आयोजना

मेरो आर्थिक
मेरो आर्थिक
चैत्र ४ गते २०८०
राष्ट्रिय वाणिज्य बैंकद्धारा “आरबीबीएल म्यानेजमेन्ट कन्फेरेन्स २०२४” आयोजना

हाल राष्ट्रिय अर्थतन्त्र र बैंकिङ्ग क्षेत्रमा देखिएका समस्या तथा चुनौतिहरुको बारेमा अर्थविद्, बैंकिङ्गविज्ञ तथा उद्यमीहरुका बीचमा ब्यापक छलफल गरी बैंकिङ्ग क्षेत्रमा देखिएका चुनौतीहरुलाई सम्बोधन गर्न तथा आगामी दिनमा दिगो बैंकिङ्ग विकासका लागि दिशा निर्देश गर्न राष्ट्रिय वाणिज्य बैंकले "आरबीबीएल म्यानेजमेन्ट कन्फेरेन्स २०२४" शनिबार काठमाडौंमा आयोजना गरेकाे छ ।

"आरबीबीएल म्यानेजमेन्ट कन्फेरेन्स २०२४" को अर्थमन्त्री बर्षमान पुनले उद्घाटन गर्दै सरकारहरु निरन्तरताका आधारमा संचालित हुुने तिनका आधारमा नीतिहरु आधारभूत रुपमा परिवर्तन नहुने धारणा व्यक्त गरे । यसैको आधारमा सरकारले नीति बनाएर कार्य गरिरहेका हुने बताउँदै उनले ऋण लिएर तिर्नुहुँदैन भन्ने नकारात्मकता फैलाउने कुरा स्वीकार्य नहुनेमा जाेड दिए। राजनीतिक परिवर्तनले जनताको जीवनस्तरमा परिवर्तन नभईरहेको सन्दर्भमा राजनीतिक प्रणालीको समेत समीक्षा गरी हामीले नयाँ ढंगले कार्य गरिरहेको बताए। बैंकिङ्ग क्षेत्र जनताको रकमबाट संचालित हुने भएकोले संस्थागत सुुशासन कायम गर्न जोड दिनुपर्ने मन्त्री पुनकाे भनाइ थियाे।

यसैगरी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्रिय वाणिज्य बैंक विभिन्न परिसूचकहरुको आधारमा सबल रहेको बताउँदै आफ्नो स्रोतलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने बताए। उनका अनुसार बैंकिङ्ग क्षेत्रले जनविश्वास कायम गर्नेगरी कार्य गर्नुपर्दछ। साना खराब कामले संस्थालाई असर गर्ने हुँदा सचेत भएर काम गर्नुपर्ने पनि उनले बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले समग्र बैंकिङ्ग क्षेत्रको बारेमा अवगत गराए । उनले राष्ट्रिय वाणिज्य बैंकले दिगो व्यवसायिक वृद्धिको आधार र गुणस्तरमा सुधार भन्ने नाराका साथ कार्य गरिरहेको जानकारी दिए ।

नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले पछिल्लो समयमा बैंकिङ्ग क्षेत्रको बारेमा विभिन्न टिकाटिप्पणी हुने गरे पनि वित्तीय अवस्था ठिक रहेको बताए । उनले भने, "बैंकिङ्ग क्षेत्रको योगदानको लागि सम्मान व्यक्त गर्दछौं," उनले नेपालको बैंकिङ्ग क्षेत्र दक्षिण एशियाकै उत्कृष्ट बैंकिङ्ग क्षेत्र हुन सक्ने बताए।

उक्त कन्फेरेन्सको प्यानल डिस्कसनमा आफ्नो किनाेट स्पीच राख्दै सासंद एवं अर्थविद् डा. स्वर्णीम वाग्लेले विकसित राष्ट्रहरुको आर्थिक वृद्धिदर कम हुने र नेपाल जस्तो विकासोन्मुख देशको आर्थिक वृद्धिदर बढी हुनुपर्ने भएता पनि सो अनुरुप हुन नसकेको बताए । आर्थिक सुशासन कायम भएको खण्डमा ७–८ प्रतिशत आर्थिक वृद्धि सम्भव रहेको तर हाल कोभिड–१९ को प्रभावले वृद्धिदर कम रहेको पनि उनले बताए । बजेटको आकार अनुसार पूँजीगत खर्च नभएकाले आर्थिक क्रियाकलाप चलायमान हुन नसकेको, विदेशी क्षेत्र अन्तर्गत भारतीय मुद्रासँगको पेग दिगो नरहेको तर हाम्रो आर्थिक अवस्था अहिले कमजोर भएकाले ठिकै मान्नुपर्ने अवस्था रहेको जानकारी दिए । देशमा “नाफा जति निजीकरण, घाटाजति सार्वजनिकीकरण” को अवस्था भएमा आर्थिक विकासमा फड्को मार्न नसकिने बताए ।

अर्थ मन्त्रालयका सचिव (राजश्व) डा. रामप्रसाद घिमिरेले हाम्रो अर्थतन्त्रको आकार अनुसार हाम्रो आर्थिक वृद्धिदर निकै न्यून रहेको जानकारी दिँदै वर्तमान अर्थतन्त्रका प्रमुख ३ चुनौतिका रुपमा उत्पादन वृद्धि, रोजगारीमा वृद्धि र पू“जीगत खर्चको वृद्धि रहेको बताए ।

अर्थविद् एवं राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठले हाल तरलताको अवस्था सकारात्मक रहेको, विदेशी मुद्राको सञ्चिती राम्रो अवस्थामा रहेको, ब्याजदर न्यून रहेको अवस्था हुँदाहुँदै पनि निजी क्षेत्र आशावादी हुन नसकेको, आन्तरिक मागमा कमी आएको, श्रमको अभाव भएको, उत्पादनशीलता बढ्न नसेको अवस्थाका कारण अर्थतन्त्रमा आशातित गतिशीलता आउन नसकेको बताए । उनले अर्थतन्त्र सकारात्मक दिशामै अगाडि बढ्ने संकेत देखिएकोले आशा गर्ने ठाउँ भने रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं उद्यमी भवानी राणाले बैंकिङ्ग क्षेत्रमा पर्याप्त स्रोत हुँदाहुँदै पनि कर्जा लगानी हुन नसक्नुका कारण पत्ता लगाउन निजी क्षेत्र र बैंकिङ्ग क्षेत्रको ग्याप एनालाइसिस गर्नुृपर्ने बताइन् । उनकाे उत्पादनमुलक, पर्यटन, कृषि क्षेत्रमा लगानीको सम्भावना रहेको भनाइ थियाे।

बरिष्ठ बैंकर परशुराम कुँवरले हामीले बैंकिङ्ग क्षेत्रको विकासमा धेरै फड्को मारेका अवस्था भए पनि प्रविधिको क्षेत्रमा अझै पनि धरै कार्य गर्न बाकी रहेको बताउँदै भारतको बैंकिङ्ग प्रविधिबाट धेरै कुरा सिक्न सकिने जनाएका थिए। बैंकिङ्ग क्षेत्रमा नवपवर्तनका लागि छिमेकी राष्ट्र चीन र भारतबाट सिक्न सकिने बताए ।

फिनटेक विज्ञ संजीव सुब्बाले नेपाल राष्ट्र बैंकको नियामकीय भूमिका महत्वपूर्ण रहेकोमा अर्थतन्त्रमा सूचना प्रविधिको प्रयोगबाट रुपान्तरण सम्भव रहेको बताए । उनले बैंकिङ्ग क्षेत्रले सूचना प्रविधिको उपयोगको सन्दर्भमा कोर बैंकिङ्ग सिस्टमभन्दा बाहिर पनि सोच्ने बेला आईसकेको बताए । आजको सन्दर्भमा साइबर सुरक्षा सम्बन्धी चुनौति रहेको र यसमा जतिसुकै खर्च गरेपनि कुनै पनि देश साइबर सुरक्षाको जोखिमबाट बच्न नसक्ने कुरा औँल्याए ।

बरिष्ठ बैंकर भुवन दाहाल तथा किरणकुमार श्रेष्ठ, कमनसेन्स विज्ञ सुजीब शाक्य लगायतले विषयगत रुपमा आ–आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरुसंग अन्तरक्रिया समेत गरिएको थियो । कार्यक्रममा आ.व. २०७९/०८० मा बैंकका विभिन्न जिम्मेवारीमा रहेर सर्वाेत्कृष्ट तथा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारी तथा शाखा कार्यालहरुको मनोबल बढाउन र समग्रमा कामप्रति उत्प्रेरणा जगाई थप जिम्मेवार बनाउन पुरस्कृत गरिने कार्यक्रम रहेको छ । कार्यक्रममा बैंक सञ्चालन समितिका सदस्यहरु, नायब प्रमुख कार्यकारी अधिकृतहरु, उपकार्यकारी अधिकृतहरु, कृयाशील ट्रेड युनियनका अध्यक्ष तथा पदाधिकारीहरु, विभागीय प्रमुखहरु, उप–प्रमुखहरु, प्रादेशिक प्रबन्धकहरु, उप–प्रमुखहरु, बरिष्ठ प्रबन्धकहरु लगायत २८७ शाखाका शाखा प्रबन्धकहरु लगायत करीब ४५० जनाको उपस्तिथि रहेको थियो ।

Add a new comment