Skip to content
logo
भाद्र २३ गते २०८१ समयः

सूर्योदय नगरपालिकाद्वारा अटोमेटिक एनालाइजर मेसिन फिक्कल अस्पताललाई हस्तान्तरण

मेरो आर्थिक
मेरो आर्थिक
असार २९ गते २०८१
सूर्योदय नगरपालिकाद्वारा अटोमेटिक एनालाइजर मेसिन फिक्कल अस्पताललाई हस्तान्तरण

इलाम जिल्लाको सूर्योदय नगरपालिकामा रहेको नगरपालिकाको पहलमा स्वास्थ्य चौकीबाट स्तरोन्नति भई नगरको एक मात्र अस्पतालको रुपमा सञ्चालनमा रहेको फिक्कल अस्पतालमा अत्याधुनिक मेसिन जडान गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच उक्त बायो केमेस्ट्रिको अटोमेटिक एनालाइजर मेसिनको उद्घाटन गरिएको हो ।
आम नगरबासीको स्वास्थ्यलाई दृस्टिगत गर्दै उक्त मेसिनको जडान गरिएको छ । यो मेसिनको सञ्चालनसँगै अब फिक्कल अस्पतालमा १५ मिनटमा ल्याबको रिर्पोट प्राप्त गर्न सकिने बताइएको छ । यस मेसिनको बजार मुल्य करीव ४५ लाख भन्दा बढ़ी पर्ने जनाइएको छ । कार्यक्रममा Fully Automatic Biochemistry Analyzer Machine-Tokyo BOEKI BIOUS 30i नगरपालिकाको तर्फबाट फिक्कल अस्पताललाई हस्तान्तरण भएको थियो। सूर्योदय नगरपालिकाको चालु आ.व. २०८०/०८१ को बार्षिक स्विकृत कार्यक्रम अन्तर्गत उक्त मेसिन नगरले अस्पताललाई हस्तान्तरण गरिएको छ ।
जापानमा बनेको भनिएको अटोमेटिक एनालाइजर मेसिन अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएको र मेसिनको टेष्ट रिर्पोटको मान्यता सय प्रतिशत रहेको दावी गरिएको छ । उक्त मेसिनले पहिलो पटक १५ मिनटमा रिपोर्ट र दोस्रो प्रति १५ सेकेण्ड प्रति रिपोर्ट दिन सक्ने बताइएको छ । नेपालमा पहिलो पटक फिक्कल अस्पतालको ल्याबबाट संचालनमा आएको भनिएको उक्त मेसिनले प्रति २४ घण्टामा १५०० को ल्याब टेष्ट गर्न सकिने बताईएको छ।
उक्त मेसिनको हस्तान्तरण तथा उद्घाटन समारोहमा सूर्योदय नगरपालिकाका नगरप्रमुख रण बहादुर राई, उप–प्रमुख दुर्गा कुमार बराल, प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराई, स्वास्थ्य शाखा प्रमुख बिपुल अधिकारी, अस्पतालका कर्मचारीहरु तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा नगर प्रमुख राईले उक्त मेसिन सार्वजनिक गर्नु भएको थियो ।
सूर्योदय नगरपालिकाले पूर्वाधार बिकासमा जोड दिएसँगै प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै अस्पतालमा रुपान्तरण गरिएसँगै आकस्मिक सेवा, ल्याव सुविधा, प्रसुति सेवा लगायतका बिभिन्न सेवाहरु उपलब्ध हुँदै आएको छ । एम्बुलेन्स सेवा उपलब्ध भएपछि अलवेदर अन्तर्गतको सडक सञ्जालका ग्रामीण भेगका स्थानीयबासीहरुले पनि सहज सेवा लिन पाएका छन् । अस्पतालको भौतिक स्तरोन्नति गर्न १५ सैंयाको नगर अस्पतालको लागि १२ करोड ४५ लाख बराबरको ठेक्का बापतको करीव ६५ प्रतिशत काम सक्किएको छ ।
नेपाल सरकारको स्वास्थ्य बीमा बोर्ड अन्तर्गत बीमा लागु भएसँगै बिरामी चाप अझ बढेको अस्पतालले जनाएको छ । सामान्य बिरामी देखी दीर्घ रोगी सम्मका दैनिक करीव २०० देखि ३५० हाराहरीमा बिरामीहरु उपचारका लागि आउने गर्दछन् । यसको अलवा हरेक वडामा रहेका स्वास्थ्य चौकीहरुले पनि प्रवाभकारी सेवा दिँदै आईरहेका छन् । स्वास्थ्य चौकीमा भने ल्यावको ब्यवस्था नहुँनाले बिरामीहरुको अवस्था हेरेर फिक्कल स्थित फिक्कल अस्पतालमा पठाउने गरिएको छ ।
क्षेत्रफलको हिसावले पनि ठूलो मानिएको सूर्योदय नगरपालिकामा बिरामीको चापलाई थेग्न यस्ता छिटो छरितो तथा गुणस्तरीय सेवा दिने प्रविधिको जडान तथा प्रयोग आवश्यक रहेको सहभागीहरुले प्रतिक्रिया दिएका छन् ।

"अस्पतालको भवन उच्च स्थानमा रहेकोले प्रायः चिसो हावा चलिरहने र आफु दम तथा बाथ रोगी भएकोले ब्यवस्थित टोकनको माध्यमबाट सेवा लिँदाको बखतमा पहिले डाक्टरहरुलाई भेटेर बिरामीको समस्या बताउने र उहाँहरुको सल्लाह बमोजिम ल्याव परीक्षण गर्दा रिपोर्ट आउन घण्टौं समय सम्म कुर्नुपर्ने थियो । १५ मिनेट मैं उक्त सेवा प्राप्त हुन्छ भन्ने सुन्दा खुशी लागेको छ ।" एक बिरामीले बताए ।


यो मेसिनको प्रयोगबाट नगरबासीले छिटो, छरितो तथा स्तरीय सेवा प्राप्त हुनेमा सूर्योदय नगरपालिका तथा अस्पताल प्रशासन बिश्वस्त रहेको छ । उक्त कार्यक्रममा बोल्दै नगरका स्वास्थ्य शाखा प्रमुख बिपुल अधिकारीले स्वचालित मेसिनको रिपोर्ट छिटो, सर्वमान्य तथा गुणस्तरीय हुने बताउनु भयो । नगर प्रमुख रण बहादुर राईले सूर्योदय नगरबासीहरुले अन्यत्रका अस्पतालहरुमा गएर महंगो मुल्यमा उपचार गर्नुनपरोस् भनेर उक्त प्रविधि जडान गरिएको बताउनु भएको थियो ।

Add a new comment