पेट्रोलियम पदार्थहरूको मूल्य समायोजन, सोमबार राति १२ बजेदेखि लागू हुने
मेरो आर्थिक
असाेज १५ गते २०८१
समयः ७:२८ am
नेपाल आयल निगमले पेट्रोलियम पदार्थहरूको मूल्य समायोजन गरेको छ । निगमले पेट्रोल, डिजेल/मट्टितेल र हवाई इन्धनको मूल्य घटाएर पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो ।
पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाइएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले कमी गरिएको निगमले जानकारी दिएको छ । निगमका अनुसार हवाई इन्धनमा भने आन्तरिक उडानतर्फ प्रतिलिटर ६ रुपैयाँ र बाह्य उडानतर्फ प्रति किलो लिटर ४५ रुपैयाँले मूल्य घटाइएको हो ।
एलपी ग्याँसको मूल्य भारतबाट नेपाली ४१ रुपैयाँ बढेर आए पनि चाडपर्वलाई लक्षित गरी यथावत् राखिएको निगमको भनाई छ । निगमले इन्धनको मूल्य घटेसँगै चाडबाडको मुखमा उपभोक्ताले राहत महसुस गर्ने विश्वास लिएको छ ।
मूल्य घटेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५५ र डिजेल र मट्टितेल १४६ रुपैयाँ कायम भएको छ ।
त्यस्तै सुर्खेत र दाङमा पेट्रोलको मूल्य १५७ र डिजेल तथा मट्टितेल १४६ रुपैयाँ कायम भएको छ । काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य १५८ रुपैयाँ र डिजले तथा मट्टितेलको मूल्य १४७ प्रतिलिटर कायम भएको छ ।
आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर १२६ कायम भएको छ । अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकिलोलिटर ९६० अमेरिकी डलर र पोखरा तथा भैरहवामा ८६० रुपैयाँ प्रतिलिटर कायम गरिएको आयल निगमले जनाएको छ ।
आयल निगमले पर्वका बेला इन्धन आपूर्तिमा कुनै समस्या नहुने पनि जानकारी गराएको छ । समायोजन गरेको मूल्य सोमबार राति १२ बजेदेखि मात्र लागू हुनेछ ।