Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

समूह चरणको दोस्रो खेल नेपाल र पाकिस्तान बीच हुदै

मेरो आर्थिक
मेरो आर्थिक
माघ १० गते २०८०
समूह चरणको दोस्रो खेल नेपाल र पाकिस्तान बीच हुदै

काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटको १५औँ संस्करणमा बुधबार नेपालले बलियो प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दैछ । खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ ।नेपाल यू–१९ विश्वकपमा आठौँ पटक सहभागिता जनाइरहेको छ।

नेपाल प्रतियोगिताको समूह ‘डी’ मा परेको छ । उक्त समूहमा नेपाल, न्युजिल्यान्ड र पाकिस्तानका अतिरिक्त अफगानिस्तान पनि रहेको छ । नेपालले समूहगत चरणमा आफ्नो तेस्रो तथा अन्तिम खेल जनवरी २७ तारिखमा अफगानिस्तानसँग खेल्नेछ ।

सन् २००२ को न्युजिल्यान्डमा आयोजना गरिएको यू–१९ विश्वकपमा नेपालले यू–१९ विश्वकपमा पाकिस्तानलाई हराइसकेको छ । जारी प्रतियोगितामा भने नेपालको यो दोस्रो खेल हो ।

यसअघि आफ्नो पहिलो खेलमा नेपाली टोली अर्को टेस्ट राष्ट्र न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । उक्त खेलमा टस जिती पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर तीन सय दुई रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने निर्धारित ओभरमा नौ विकेट गुमाएर दुई सय ३८ रन मात्र बनाउन सकेको थियो ।

सन् २००२ विश्वकपको समूहगत चरणको खेलमा नेपालले पाकिस्तानलाई ३० रनले पराजित गरेको थियो । त्यो विश्वकपमा नेपाल प्लेट च्याम्पियनसिपको उपविजेता पनि बनेको थियो । प्लेट च्याम्पियनसिपको फाइनलमा नेपाललाई जिम्बाबेले एक सय ३७ रनले हराएको थियो । त्यसअघि नेपालले प्लेट च्याम्पियनसिपको सेमिफाइनलमा बंगलादेशलाई २३ रनले पराजित गरेको थियो ।

Add a new comment