बुधबार पनि नेप्से सूचक १४.०५ अंकले घटेर २०५०.७९ विन्दुमा झरेको छ। मंगलबार २११७ विन्दुसम्म पुगेको नेप्से सूचक सो पश्चात भने बिक्री चापले गर्दा नकारात्मक देखिएको छ।
बुधबार बजार घट्दा कारोबार रकम पनि घटेको छ। यस दिन कुल ३ अर्ब ४९ करोड ६८ लाख २२ हजार २६० रुपैयाँको ८६ लाख ५१ हजार १६४ कित्ता शेयर कारोबार भएको छ। केहि दिन अघि ५ अर्बभन्दा माथिसम्मको कारोबार भएको बजारमा अहिले कारोबार रकम पनि ओरालो लाग्न थालेको हो।
नेप्से सूचक घटेपनि होटल क्षेत्र भने चम्किएको छ। होटल क्षेत्रमा लगानीकर्ताको आकर्षण कायमै छ। कारोबारमा आएका १३ उपसमूह मध्ये ९ उपसमूहको सूचक नकारात्मक देखिदा होटल उपसमूहको सूचक भने ४ प्रतिशतभन्दा धेरैले बढेको छ। यस दिन हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै घटेको छ।
बुधबार सिटी होटलको शेयरमूल्य ९.९७ प्रतिशतले बढेको छ भने सोल्टी होटलको ७.४४ प्रतिशत, बिपिडब्लु लघुवित्तको ६.१० प्रतिशत र इङ्ग्वा हाइड्रोपावरको ५.९८ प्रतिशतले बढेको छ।
यता ग्रिन भेन्भर्स लिमिटेडको शेयरमूल्य ६.९८ प्रतिशतले घटेको छ भने मेन्छियाम हाइड्रोपावरको ५.४८ प्रतिशत, मानुषी लघुवित्तको ५.४१ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकको ५.११ प्रतिशतले घटेको छ।
बुधबार शिवम् सिमेन्टको सबैभन्दा धेरै २३ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने सोल्टी होटलको १९ करोड, हिमालयन डिस्टिलरीको १६ करोड र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १२ करोड रुपैयाँको शेयर कारोबार भएको छ।












