आईएमई लाइफ इन्स्योरेन्सको आज (असार २१ गते) देखि आईपीओ खुला भएको छ। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेरप्रतिशेयर २३६ रुपैयाँ ९१ पैसामा आईपीयो निष्काशन गरेको हो ।
जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गरेको छ । सोमध्ये १२ लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। निष्काशन हुने कुल शेयरको ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी रहेको ९६ लाख कित्ता शेयरका लागि आवेदन दिन सकिने छ ।
सर्वसाधारणले असार २५ गतेसम्म आवेदन दिन सकिने छ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि साउन ४ गतेसम्म हुनेछ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्ता सम्मका लागि आवेदन दिन सकिनेछ ।
इन्स्योरेन्सको आईपीयो निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । साथै आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ ।












