सिडिएस एण्ड क्लियरिङ्गका अनुसार रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले निष्काशन गरेको आईपीओमा साढे १४ लाखको आवेदन परेको छ । शुक्रबार साँझ ५ः०६ बजेसम्ममा १४ लाख ७७ हजार ८७७ आवेदकबाट ४ अर्ब ४९ करोड ३९ लाख ७३ हजार ९६० रुपैयाँ बराबरको १ करोड ७४ लाख ८६ हजार २८० कित्ता शेयरको लागि आवेदन परेको हो ।
कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण हुनेछ । त्यस अनुसार योग्य आवेदक मध्ये ९ लाख ६० हजार जनाले १० कित्ताका दरले शेयर पाउनेछन् । यो सर्वसाधारणको लागि छुट्टाएको ९६ लाख कित्ता शेयरको १.८२ गुणा बढी हुन आउँछ ।
कम्पनीको अधिकृत पूँजी ५ अर्ब ५० करोड रुपैयाँ, जारी पूँजी ४ अर्ब रुपैयाँ र चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ । सर्वसाधारणलाई १ करोड २० लाख कित्ता शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ४ अर्ब पुग्नेछ ।












